जातीय विभेद तथा शरीर बन्धक मुद्दामा दम्पतीलाई जेल सजाय

0
Shares

रामेछाप । दलित समुदायकी बालिका माथि जातीय विभेद गरेको तथा शरीर बन्धक बनाउने दम्पतीलाई जिल्ला अदालत रामेछापले जेल सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले शुक्रवार जातीय विभेद तथा शरीर बन्धक बनाएको मुद्दामा दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाएको हो ।

जिल्ला अदालत रामेछापले शरीर बन्धक र जातीय विभेद मुद्दामा मन्थली नगरपालिका ६ भलुवाजोरका ६३ वर्षीय शेर बहादुर नगरकोटी र उनिकि धर्मपत्नी बाल कुमारी श्रेष्ठलाई नगद जरिवानासँगै कैद सजाय फैसला भएको जिल्ला अदालत रामेछापका श्रेतेदार राम प्रसाद पौडेलले बताउनुभयो ।

२०७८ माघमा घरमा नभएको मौका पारेर छिमेकी १२ वर्षीया नेपाली थर भएकी दलित बालिका श्रेष्ठको घरमा पसी २ डाडु दही चोरेर खाएको अभियोगमा श्रेष्ठले वालिकालाई नियन्त्रणमा लिएको थिए । नियन्त्रणमा लिएर श्रेष्ठले आफ्नै घरको थाममा १९ घण्टासम्म दाम्लोले बाँधेर यातना दिएका थिए । दही चोरी भएको घटनाभन्दा पनि दलित बालिका घरभित्र पसेको अभियोगमा उनले घर जिम्मा नलिई बालिकालाई नफुकाउने अडान लिएर बसेका थिए ।

घर चोख्याउनका लागि रुद्री पूजा लगाउने खर्च दिन्छु भनेर बालिकाका अभिभावक र जनप्रतिनिधिले भन्दा पनि दाम्लो नखोलेपछि घटनाको जानकारी प्रहरीलाई गराइएको थियो । जिल्ला सदरमुकामबाट पुगेका प्रहरीले दाम्लो खोलेर बालिकाका उद्धार गर्नुका साथै अभियुक्त लाई नियन्त्रणमा लिएको थिए ।

श्रेतेदार पौडेलका अनुसार शेरबहादुर नगरकोटीलाई शरीर बन्धक कसुरमा ३ वर्ष ६ महिना कैद र ३५ हजार जरिवाना र जातीय भेदभाव तथा छुवाछुत गरेको कसुरमा १ वर्ष कैद र ७५ हजार जरिवाना भएको छ । दुवै कसुर गरी श्रेष्ठलाई ४ वर्ष ६ महिना कैद र १ लाख १० हजार जरिवानाको फैसला भएको छ । त्यसै गरी जातीय भेदभाव तथा छुवाछुत मुद्रामा दोषी देखिएकी बालकुमारी श्रेष्ठलाई ३ महिना कैद र ५० हजार जरिवाना हुने फैसला अदालतले सुनाएको छ ।

प्रहरीमा परेका दुई अलग अलग अभियोगमा अनुसन्धान सकेर श्रेष्ठलाई जिल्ला अदालमा पेस गरिएकोमा तत्कालीन जिल्ला अदालतका जिल्ला न्यायाधीश बद्री प्रसाद ओलीको इजलासले ५० हजार धरौटी लिएर तारिखमा छोडेका थिए ।