राष्ट्रपतिबाट भएको संविधान विपरीत कामले राजनीतिक दुर्घटनाको खतरा बढ्यो : मन्त्री भुसाल

0
Shares

भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रपतिको संबिधान विपरीत कामले राजनीतिक दुर्घटनाको खतरा बढेको बताउनुभएको छ ।

भक्तपुरमा आयोजित शंखधर बचत तथा ऋण सहकारी संस्था लिको वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपतिबाटै भएकोमा आपत्ति जनाउनुभयो ।

मन्त्री भुसालले संबैधानिक राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेको बताउनुभयो ।

संविधान, कानुन र विगतका सरकारहरुले नै ल्याएको विधेयक र अध्यादेशमा आधारित भएर सरकारले ल्याएको सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर गल्ती गरेको बताउनुभयो ।

मन्त्री भुसालले नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय नगर्ने र गल्ती पनि नगर्ने सम्मानित संस्थाको रुपमा राखेको भन्दै त्यसलाई विवादमा पार्ने काम भएको बताउनुभयो ।

मन्त्री भुसालले राष्ट्रपति जस्तो सम्मानजनक अभिभावकत्व ग्रहण गरेको संस्था विवादमा नपरोस् भन्नेमा आफूहरु सजग रहेको समेत बताउनुभयो ।

मन्त्री भुसालले सेरेमोनियल राष्ट्रपतिले प्रतिनिधिसभा, राष्ट्रियसभा दुवैबाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेको बताउनुभयो ।

नागरिकताको विषयमा प्रमुख प्रतिपक्षीले भ्रम फैलाएको आरोप लगाउनुभयो । २०६३ को अन्तरिम संविधानमा रहेको व्यवस्था नै अहिलेको संविधानमा रहेको भन्दै उहाँले अहिले राजनीतिक रंगमञ्चमा गलत तर्क र गलत बहस भएको बताउनुभयो ।

मन्त्री भुसालले सरकार बर्तमान राजनीतिक अन्यौलकाबीच कुनै राजनीतिक दूर्घटना नहोस् , प्रतिक्रान्ति र पश्चागमन नहोस् भन्ने कुरामा सचेत रहेको उहाँको भनाई थियो ।

मन्त्री भुसालले निर्वाचनलाई सहज ढंगले तोकिएकै मितिमा सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

परिवर्तनमा लाग्ने सबै राजनीतिक दल, नागरिक समाज, नागरिक समाजका अगुवा, बुद्धिजीवि, सचेत नागरिक, सबैले ध्यान दिनुपर्ने बताउँदै आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको निम्ति सबै होमिनुपर्नेमा जोड दिनुभयो ।