दाइजोमा गाडी नपाएपछि पत्नीको हत्या

0
Shares

वीरगन्ज । दाइजोमा गाडी नपाएपछि आफ्नी बहिनीको हत्या भिनाजु र उनका परिवार मिलेर गरेको परिवारका सदस्यहरुले बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१ बस्ने मनीष कुर्मीले बहिनीको हत्या भिनाजु र उनका परिवारले मिलेर गरेको वीरगन्जमा पत्रकार सम्मेलन गरी बताएका छन् । १२ वर्षअघि ०६७ साल मंसिर १४ गते बहिनी पिंकी कुर्मीको विवाह बाराको कलैया उपमहानगरपालिका–१ मेतीबाग टोल बस्ने दीपेन्द्रप्रसाद जैसवारसित भएको तथा सोही बेलादेखि थप दाइजो दिनुपर्ने ससुरा पक्षले माग गर्दै आएको कुर्मीले बताउनुभयो ।

विवाह भएको बेला पनि दाइजोमा पिंकीका परिवारले दीपेन्द्रलाई नगद, सुन चाँदीका गरगहना दिए पनि थप दाइजो दिनुपर्ने माग ससुरा पक्षको थियो । सोही विषयलाई लिएर बिहेको एक वर्षपछि नै दीपेन्द्र तथा उनका परिवारले पिंकीलाई शारीरिक र मानसिक यातना दिँदै कुटपिट गर्ने गरेको पत्रकार सम्मेलनमा माइती पक्षले बताए ।

दाइजोकै कारण बहिनीलाई उनका ससुरा पक्षले कुटपिट गर्दा घाइते भएकी पिंकीको असोज २ गते राति काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको पत्रकार सम्मेलनमा उनका भाइ मनीषले जानकारी दिनुभयो ।

भदौ १८ गते बहिनीमाथि भिनाजु दीपेन्द्र र उनका परिवारले कुटपिट गर्दा शरीरका विभिन्न भाग र टाउकोमा प्रहार गरी घाइते बनाएको उहाँको भनाइ छ । घाइते भएकी बहिनीलाई उपचारमा समेत लापरवाही गरिएको तथा डाक्टरले टाउकोको सिटी स्क्यान गर्न भने पनि नगरी राखिएको मनीषले जानकारी दिनुभयो ।

बहिनीको स्वास्थ्य अवस्था गम्भीर भएपछि भदौ २७ गते वीरगञ्जमा र त्यसपछि चितवनमा उपचार गराइए पनि उनको मृत्यु भएको मनीषले बताउनुभयो । पत्रकार सम्मेलनमा कलैया–१ मोतीबाग निवासी महिला अधिकारकर्मी समेत रहेकी दीपेन्द्रकी छिमेकी सरस्वती खरेलले समेत पिंकीमाथि बेला–बेलामा उनका परिवारले कुटपिट गर्ने गरेको बताउनुभयो ।

राति बेला बेला पिंकीमाथि कुटपिट हुने गरेको र यसबारे प्रहरी र वडामा पनि उजुरी पुगेको खरेलको भनाइ छ । पिंकीले समेत ०७५ सालमा आफ्ना श्रीमान्, ससुरा सासूविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा घरेलु हिंसाको उजुरी दिनु भएको थियो ।

दीपेन्द्र एसबिआई बैंकका प्रबन्धकको रुपमा कार्यरत छन् । तर, बिबाद समाधान नहँुदा पछि उनले जिल्ला अदालतमा समेत संरक्षणात्मक आदेश जारी गरिपाऊँ भनी निवेदन दिनु भएको हो ।

आफ्नी बहिनीको हत्या गरेको आरोपमा मनीषले जिल्ला प्रहरी कार्यालय बारामा दीपेन्द्र, उनका बुवा मुरारी जैसवार, आमा मन्तुरा देवी र काका जगत्प्रसाद जैसवारविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिनु भएको छ । जाहेरीका आधारमा अनुसन्धानका लागि बारा प्रहरीले मृतक पिंकीका श्रीमान् दीपेन्द्र जैसवारलाई पक्राउ गरी घटनाबारे अनुसन्धान अगाडि बढाएको छ ।