आफ्नो क्षमता पहिचान गर्नुहोस्



मानिसको क्षमता के हो ? यदि मानिसमा रिसाउने क्षमता छ भने उसमा शान्त रहने क्षमता पनि छ । यदि मानिसमा प्रेम गर्ने सामथ्र्य छ भने उसमा घृणा गर्ने सामथ्र्य पनि हुन्छ । यदि मानिसमा आनन्दको अनुभव गर्ने विशेषता छ भने उसमा दुःखी र हैरान हुने विशेषता पनि छ । मानिसमा शान्ति छ भने उसमा अशान्ति पनि छ । दुवै कुरा छन् अनि दुवै साथमै हिँड्छन् । मूल कुरा के हो भने, तपाईँ कुनचाहिँ क्षमतालाई प्रोत्साहन गर्नुहुन्छ । तपाईँ जुन क्षमतालाई बढी प्रोत्साहन गर्नुहुन्छ, जीवनमा त्यही नै सक्षम हुन्छ ।

हरेक मानिस फरक हुन्छ । यदि मानिसले चाहेमा आफ्नो यो क्षमता तथा सामथ्र्यलाई पहिचान गरेर जीवनलाई सफल तुल्याउन सक्छ । पृथ्वीमा कैयौँ मानिसहरू छन् अनि आगामी दिनमा पनि हुनेछन् तथापि तपाईँजस्तो अर्को कोही पनि मानिस न त अहिले छ, न त पछि हुनेछ । तपाईँ जसरी हाँस्नुहुन्छ, प्रेम गर्नुहुन्छ, जस्तो सोच्नुहुन्छ त्यो आफैंमा विशेष छ । त्यसकारण हरेक मानिसले आफ्नो सामथ्र्य र क्षमतालाई चिन्नु आवश्यक छ । किनभने, यही क्षमताका कारण नै मानिसले आफ्नो जीवन परम आनन्दले भरिपूर्ण बनाउन सक्छ । उसको जीवनमा वास्तविक शान्ति र प्रेमको सञ्चार हुन सक्छ अनि यथार्थमा जीवनलाई सफलीभूत तुल्याउन सक्छ ।

मानिसले मेरा बारेमा अरूले के सोचिरहेका होलान् भनेर चिन्ता गर्नुहुँदैन । यदि तपाईँ जीवनमा कुनै कारणले असफल हुनुभयो भने पनि कहिल्यै त्यो असफलतालाई स्वीकार नगर्नुहोस् । र, पहिला पनि तपाईँले यस्तो गर्नुभएको छ । तपाईँ बाल्यावस्थामा हिँँड्न सिक्दाखेरि हिँड्नका लागि कैयौँपटक उठ्नुभयो अनि लड्नुभयो । तर, तपाईँले हिँड्न नसिकेसम्म त्यो असफलतालाई स्वीकार गर्नुभएन । परिणामतः तपाईँ हिँड्न सक्ने हुनुभयो ।

तपाईँका ती क्षमताहरूबाट तपाईँ कहिल्यै पनि वञ्चित हुनुहुन्न । तपाईँ जहाँसुकै जानुहोस्, यी सबै कुरा तपाईँसँगै हुन्छन् । मानिसभित्र आँधीबेहरी आएपछि त्यहाँबाट निस्केर हामीभित्र विद्यमान त्यो वास्तविक क्षमता, त्यो शक्ति जसले सारा विश्वलाई चलाइरहेको छ– त्यसको अनुभव भएपछि शान्ति उत्पन्न हुन्छ । जबसम्म उसले त्यो वास्तविक क्षमता र शक्तिको अनुभव गर्दैन तबसम्म आफूले आफूलाई पूर्ण रूपले चिन्न सक्दैन– ‘ऊ के हो !’ किनभने, मानिसले आफूभित्र रहेको त्यो चीजको अनुभव गर्न सक्छ जसको ऊ एउटा अंश हो । जसको कुनै सीमा हुँदैन, जसको कहिल्यै नाश हुँदैन ।

एउटा कथा छ । एउटा गाउँ थियो । त्यो गाउँको जङ्गलमा एउटा सर्प बस्थ्यो । गाउँबाट पँधेरासम्म जानका लागि बाटो त्यतैबाट पथ्र्यो । त्यही बाटो भएर मानिसहरू खाने पानी लिनका लागि जाने गर्दथे । सर्प एकदमै डरलाग्दो थियो । उसले सबैलाई डस्ने गथ्र्यो । मानिसहरू उसदेखि एकदमै डराउँथे । यस्तो परिस्थिति पनि सिर्जना भयो– मानिसहरूले त्यो बाटोबाट आवतजावत गर्नै छोडिदिए । अब मानिसहरूलाई पानीको समस्या हुन थाल्यो । मानिसहरूले प्रार्थना गर्न लागे– ‘हे, सृष्टिकर्ता ! हामीलाई यो समस्याबाट छुटकारा दिलाउनुहोस् । केही यस्तो गर्नुहोस् जसद्वारा हामीलाई आउन–जान सहज होओस् ।’

मानिसहरूको पुकारा सुनेर सृष्टिकर्ताले सर्प भएको स्थानमा गएर भने, ‘तिमी यहाँ के गरिरहेका छौ ? मानिसहरूलाई किन डस्छौ ? किन दुःख दिन्छौ ?’ अनि सर्पले भन्यो, ‘माफी चाहन्छु ! अबदेखि यस्तो हुँदैन । यदि तपाईँ चाहनुहुन्छ भने म कसैलाई पनि डस्दिन । कसैलाई पनि दुःख दिँदिन ।’सर्पले मानिसहरूलाई डस्न, दुःख दिन छोड्यो । त्यसपछि मानिसहरू त्यहाँबाट आवत–जावत गर्न थाले । मानिसहरूले सर्पलाई नदेखेपछि त्यसको खोजी गर्न थाले– ‘कहाँ गयो ?’ जसै उनीहरूले सर्पलाई देखे उनीहरूले उसतिर ढुङ्गा प्रहार गर्न लागे । अब बिचरा त्यो सर्पले न कसैलाई डस्न सक्छ, न त तर्साउन सक्छ । न त केही गर्न सक्छ । उसको अवस्था नाजुक हुन लाग्यो । हरेक दिन मानिसहरू पानी लिन जाँदा आफूसँग ढुङ्गा लिएर जाने अनि उसलाई ढुङ्गाले हिर्काउने गर्न थाले ।

सर्पको अवस्था अत्यन्तै नाजुक भयो अनि ऊ मरणासन्न अवस्थामा पुग्यो । तब उसले सृष्टिकर्तालाई प्रार्थना गर्दै भन्यो– ‘केही गर्नुहोस् ! तपाईँको आज्ञा मान्नाले मेरो यस्तो अवस्था भयो । मलाई बचाउनुहोस् ।’सर्पको हालत देखेपछि उनी आएर उसलाई सम्झाउँदै भने, ‘तिमी एउटा काम गर ! नडस तर मानिसहरू तिम्रो छेउमा पुगेपछि तिमी फणा फैंलाएर बस । तिमी फणा पैmलाएर बस्यौ भने मानिसहरूलाई ‘यसले डस्छ’ भन्ने लाग्छ । यसो गर्नाले मानिसहरू तिमीभन्दा टाढै बस्छन् अनि तिमीलाई ढुङ्गाले प्रहार पनि गर्दैनन् । उनीहरू पनि बाँच्न सकून् अनि तिमी पनि बाँच्न सक्छौ ।’

यो कथाले हामीलाई नरम हुने प्रेरणा प्रदान गर्छ । जसमा नम्रता हुन्छ त्यो नै उसको सबैभन्दा राम्रो गुण हो । त्यो नै सबैभन्दा ठूलो क्षमता हो ! अपबल, तपबल, बाहुबल– यो वास्तविक शक्ति होइन । किनभने, एकदिन यो संसारबाट बिदा लिनुपर्छ । यो शरीर त माटामा मिल्नेछ । त्यसकारण विनाअर्थको अभिमानलाई छोडेर आफूभन्दा कमजोर र विनम्र मानिसलाई बल प्रयोग गर्नुहुँदैन ।

आफूभित्रको क्षमतालाई चिन्नुपर्दछ । जसका कारणले तपाईँको भेट ती सृष्टिकर्तासँग होओस् । तब मात्रै यो जीवन वास्तवमा सफल हुन्छ । कुरा केवल के हो भने के हामीले आफ्नो जीवनमा त्यो वास्तविक क्षमतालाई स्वीकार गरेका छौँ या छैनौँ ? यदि ग-यौँ भने त्यो क्षमता तपाईँभन्दा टाढा छैन । जबसम्म हामी जीवित हुन्छाैं, हामी निराश हुनु आवश्यक छैन । यो हो हाम्रो वास्तविक क्षमता ! मानिसको वास्तविक सामथ्र्य हो–आफूले आफूलाई चिन्नु, आफ्नो हृदयलाई शान्तिले भरिपूर्ण तुल्याउनु ।हिजोआज मानिसहरू एक–आपसमा प्रेमको तुलनामा घृणा नै बढी गर्छन् । किन यस्तो भइरहेको छ ! घृणालाई प्रेममा बदल्ने तरिका के हो ? कसरी हामी घृणालाई प्रेममा रूपान्तरण गर्न सक्छौँ !

घृणाको मूल कारण के हो भने, जसले आफ्नो जीवनमा वास्तविक प्रेमलाई कहिल्यै पनि महसुस गर्न सकेन, जसले प्रेमका बारेमा जान्दै जान्दैन भने उसले कोसँग प्रेम गर्न सक्ला र ! उसले त घृणालाई नै प्रेम गर्नेछ । अनि, हामी मानिसले घृणालाई अँगाल्न सिकेका छौँ । प्रेमलाई प्रेम गर्न हामी जान्दै जान्दैनौँ । हामीभित्र विराजमान जुन शक्ति छ, जुन श्वास हामीभित्र आइरहेको छ अनि गइरहेको छ त्यो सृष्टिकर्ताको आशीर्वाद हो । हामीले उनीसँग अर्थात् आफूले आफैं सँग प्रेम गर्न नसिकेसम्म हामीले कोसँग प्रेम गर्न सिकौँला र !

हामीले आफ्नो अपेक्षासँग प्रेम गर्न सिकेका छौँ । हामी घरमा आइपुगेपछि के आशा राख्छौँ भने, मीठो खाना खान पाइनेछ । तथापि, सोचेजस्तो भएन भने तपाईँको प्रेम के हुन्छ ! तपाईँ आफ्नो छोरासँग प्रेम गर्नुहुन्छ तर तपाईँको छोरो विद्यालयमा अनुत्तीर्ण भयो भने तपाईँको उसप्रतिको प्रेमको अवस्था कस्तो हुन्छ !

प्रेम गर्न सिक्नुहोस् ! यो श्वाससँग प्रेम गर्न सिक्नुहोस् ! यो जीवनसँग प्रेम गर्न सिक्नुहोस् । जब प्रेम गर्न सिक्नुहुन्छ भने जोसँग प्रेम गर्नुहुन्छ नि तब प्रेम के हो भन्ने कुरा बुझ्न थाल्नुहुन्छ । अहिले त कुनै पनि चीजको परिणामसँग प्रेम गर्नुहुन्छ । घरमा भनेजस्तो खाना पाकेन भने के हाम्रो प्रेम पनि समाप्त हुन्छ त !ग्रिसका दार्शनिक सुकरातले भनेका छन्, ‘जुन चीजको तपाईँलाई चाहना थियो यदि त्यो चीज प्राप्त भएन भने तपाईँलाई दुःख लाग्छ । यदि तपाईँलाई त्यो प्राप्त हुन्छ जसलाई तपाईँले चाहनुभएकै थिएन भने पनि तपाईँलाई दुःख लाग्छ । तपाईँलाई यदि त्यो प्राप्त भयो जुन तपाईँको चाहना नै हो तब पनि तपाईँलाई दुःख नै छ ।’

उदाहरणका लागि यदि हामीले हाम्रो सिरानीमुनि एउटा स्वर्ण मुद्रा प्राप्त होओस् भन्ने चाहना राख्यौँ र यदि त्यो प्राप्त भएन भने हामी खुशी हुँदैनौँ । यदि त्यो प्राप्त भयो जुन हाम्रो चाहनामा थिएन भने जस्तो कि सर्प ! तब पनि त खुशी हुन सक्दैनौँ । किनभने, त्यसलाई हामी राख्न सक्दैनौँ ।

यो सारा संसारमा हरेक चीज बदलिरहेको छ तर परिवर्तन हुने कुरालाई हामी रुचाउँदैनौँ । हामी कुनै चीज परिवर्तन होओस् भन्ने चाहना राख्दैनौँ तर हरेक चीज बदलिरहनेछ । जब तपाईँ स्वयम् आफूभित्र नियाल्न थाल्नुहुन्छ त्यसपछि तपाईँलाई आफूले आफूलाई बदल्न सकिन्छ भन्ने कुरा महसुस हुन थाल्छ । परिवर्तन आवश्यक हुन्छ । सबै कुरा बदलिरहेको छ– हरेक सेकेन्ड, हरेक मिनेट, हरेक चीज बदलिरहेको छ । परिवर्तन भइरहने चीजसँग प्रेम गर्न एकदमै गाह्रो हुन्छ । तथापि, एउटा चीज छ जुन बदलिँदैन । यो संसारमा प्रेम हुनुपर्छ, तर मानिसले वास्तविक प्रेम के हो त्यसलाई पनि बुझ्नुपर्ने हुन्छ । साँचो प्रेमलाई बुझेपछि मानिसले वास्तवमा प्रेम गर्न सक्छ ।

यो संसारमा घृणा भनेकै के हो भने, मानिसले आफूले आफैं सँग प्रेम नगरीकन घृणालाई प्रेम गर्ने गर्छ । मानिसले आफूले आफूलाई प्रेम गर्न थालेपछि घृणा होइन केवल प्रेम नै प्रेम हुनेछ ।हामी एक–अर्कालाई घृणाले होइन प्रेमका माध्यमले जित्न सक्छौँ । प्रेममा एकदमै ठूलो तागत हुन्छ । मानिसले प्रेमको अभ्यास र आफ्नो हृदयमा अवस्थित शान्तिको अनुभव गरेर जीवनलाई सफल पार्न सक्छ । किनभने, हामी जीवनमा जुन चीजको बढी अभ्यास गर्छौँ नि त्यसैमा पोख्त हुन्छौँ । यदि हामीले घृणाको अभ्यास ग-यौँ भने हामी त्यसैमा पोख्त हुनेछौँ । त्यस्तै गरेर यदि तपाईँले आआफूभित्रको प्रेमलाई प्राप्त गर्ने अभ्यास गर्नुभयो भने तपाईँ त्यसैमा पोख्त हुनुहुनेछ ।

तपाईँ यस कुरामाथि विचार गर्नुहोस् । मानिस बन्नुहोस् किनभने तपाईँ मानिस हुनुहुन्छ । यदि हामीले आफ्नो जीवनमा वास्तविक मानवतालाई अपनायौँ भने त हामीले कुनचाहिँ कुरालाई बदल्न सक्दैनौँ र ! यो जीवन तपाईँलाई एउटा उपहारस्वरूप प्राप्त भएको छ । यसलाई स्वीकार गर्नुहोस् अनि आफ्नो जीवनलाई सफल पार्नुहोस् ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्