कांग्रेसको घोषणापत्र बनाउने समितिमा विभिन्न क्षेत्रका विज्ञहरू


काठमाडौं । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र बनाउन नेपाली कांग्रेसले फरक फरक क्षेत्रका विज्ञको टोली खटाएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको समितिमा अर्थ, समाजशास्त्र, खेलकुद, साहित्य, मनोरञ्जन, महिला तथा बालबालिका, मधेशीलगायतका विभिन्न क्षेत्रका जानकार तथा विज्ञहरूलाई समावेश गराइएको हो ।

पार्टीका ६ जना सहमहामन्त्री र सात जना केन्द्रीय सदस्यसमेत सदस्य रहेको घोणापत्र तयारी समितिका अधिकांश सदस्य सार्वजनिक छबी बनाएका व्यक्तित्वहरू छन् ।

अर्थविद् डा. स्वार्णिम वाग्लेलाई घोषणापत्रको प्रारम्भिक मस्यौदा उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका वाग्ले आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवारका आकांक्षी हुनुहुन्छ ।

त्यस्तै स्रष्टा श्रवण मुकारुङ, क्रिकेटका पूर्व कप्तान विनोद दास पनि टिममा समेटिएको छ । नेपालको अर्थव्यवस्था, खेलकुद, पहिचान, भूगोल तथा जातजाति, उद्योग, गीत संगीत क्षेत्रका जानकारहरू घोषणापत्रमा समावेश गराउँदा सबै क्षेत्रको भावना समेटिने घोषणपत्र समितिका प्रवक्ता तथा सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।

समितिमा फिल्मका निर्देशक मीन भाम, थारू समुदायका तथ्यांक विज्ञ डा.सञ्जय महतो, डायस्पोराको आवाज समेट्न दिपेश घिमिरे, मधेसी महिलाको उत्थानमा कार्यरत डा. प्रीति मण्डल, कर्णालीका प्रतिनिधि रंगमती शाही, पहिलो पटकको मतदाताका प्रतिनिधि विकल राई, सामाजिक रूपान्तरणको विषय उठाउने प्रकाश लामिछाने, अपांगताको मुद्दा समेट्न भोजराज श्रेष्ठ, स्वास्थ क्षेत्रको प्रतिनिधित्व गर्दै डा. अञ्जनी झा, माइती नेपालकी प्रमुख अनुराधा कोइराला, इन्जिनियर्स एसोसिएसनका अध्यक्ष डा. हरि दर्लामी मगरलगायत विज्ञहरू घोषणापत्र तयारी समितिमा समेटिएको परियारले जानकारी दिनुभयो ।