पार्टनर पक्राउ परेपछि लिंक इन्टरनेशनलका काफ्ले तनावमा, वैरो विभागले पनि छानविन थाल्दै


काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोप पठाउने भन्दै सयौं जनासँग असुलेको पैसा र राहदानी पीडित पक्षले फिर्ता माग्न थालेपछि यतिबेला बसुन्धारास्थित लिंक इन्टरनेशनल पेलेसमेन्टका सञ्चालक कमल काफ्ले तनावमा परेका छन् ।

काफ्लेले युरोपको पोर्चुगल पठाउने भन्दै प्रति राहदानी ३ लाखसम्म असुलेका थिए । भिसा आएपछि डिपोजिट गरेको रकमसहित १६ लाख बुझाउनु पर्ने भन्दै उनले एडभान्स बापत व्यक्ति हेरेर ग्यारेन्टी वापत ३ लाखसम्म असुलेका थिए ।

लिंक इन्टरनेशनलका काफ्लेसँग युवाहरु युरोप पठाउँदा भएको आम्दानीमा भागबण्डा गर्ने गरी पार्टनरशिप गरेका एक एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक सुजन भट्टराई पक्राउ परेपछि उनी आफू पनि तानिन सक्ने चिन्ताले तनावमा परेका हुन् ।

समाचार स्रोतका अनुसार लिंक इन्टरनेशनलका सञ्चालक काफ्लेले झण्डै ३ सयको हाराहारीमा राहदानी र उनीहरुबाट रकमसमेत जिम्मा लिएका थिए । तर, लामो समय ‘छिट्टै काम हुन्छ’ मात्र भन्ने तर कहिलेसम्म हुने हो, केही नबताउँदा आफूहरु ठगीएको भन्दै यसअघि बुझाएको राहदानी र रकम फिर्ता माग्नेको हुल मेनपावरमै लाग्न थालेपछि काफ्ले तनावमा परेका हुन् । पोर्चुगल पठाउने भनेर लिएको रकम उनले जग्गामा लगानी गरेकाले फिर्ता माग्न जानेलाई फिर्ता गर्न नसकेकाले अफ्ठयारो स्थिति उत्पन्न भइरहेको मेनपावर सम्बद्ध स्रोतले बतायो ।

लिंकका काफ्लेले आफ्नै निकट नातेदार जिनियस एजुकेशन एण्ड कन्सलटेन्सी सर्भिस प्रालिका सञ्चालक सुजन भट्टराईसँग मिलेर युरोप पठाउने धन्दा सुरु गरेका थिए । कन्सल्टेन्सीको लाइसेन्स लिएर यूरोप पठाउने धन्दामा लागेपछि सुजन भट्टराई यतीबेला पक्राउ परेका छन् । उनीमाथि झण्डै ३ करोड ठगी गरेको अभियोग छ । यसअघि, यूरोपमा अध्ययनका लागि भन्दै सम्पर्कमा आउने विद्यार्थीलाई भट्टराईले लिंक इन्टरनेशनलमा गएर राहदानी र रकम जम्मा गर्न लगाउने गर्थे भने कतिपय राहदानी स्वयम् काफ्लेकै प्रयासमा पनि संकलन गर्ने गरिएको थियो ।

त्यसो त खाडीका केही मुलुक र मलेसियामा कामदार पठाउँदा समेत लिंक इन्टरनेशनल मेनपावर कम्पनीले मोटो रकम असुल्ने गरेको पत्ता लागेको छ । सरकारले निःशुल्क वा न्यूनतम रकम तोकेको मुलुकमा कामदार पठाउँदा समेत लिंक इन्टरनेशनलका काफ्लेले २ लाख पचास हजारदेखि ३ लाखसम्म असुल्दै आएका थिए । त्यत्रो रकम बुझाएर खाडी पुगेकाहरु भनेअनुसारको काम र पारिश्रमिक नपाएर फिर्ता आउनु परेको खण्डमा समेत खाली हात हुने गरेका थिए । फिर्ता आउँदै गर्दा मिलाउने आश्वासन दिने अनी विस्तारै ‘जे गर्न सक्छस् गर भनेर पीडितलाई थप पीडा दिने गर्दै आएका काफ्ले यतिबेला भने युरोपको फन्दामा पर्ने भएका छन् ।

धेरै कामदार पठाउने लिष्टमा टप फोरमा परेको लिंक इन्टरनेशनलका सञ्चालकको आम्दानीको स्रोत पनि शंकाकै घेरामा देखिने भएपछि वैदेशिक रोजगार विभाग र सम्पत्ति शुद्धिकरण विभागले पनि उनको खोजीनीति नगर्ला भन्न सकिन्न । लिंक इन्टरनेशनलका सञ्चालक काफ्ले नेपाली काँग्रेस निकट वैदेशिक रोजगार व्यवसायी महासंघका पदाधिकारी समेत हुन् । सोही कारण उनले विभागलाई पनि आफ्नै प्रभावमा पार्न सकेका छन् भने गृहजिल्लाकै श्रम सचिव एकनारायण अर्यालसँग त उनको राम्रै उठबस भएको बताइन्छ ।