अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल, काठमाडौं जान अस्विकार



धनगढी । 

कैलालीको धनगढीमा विगत १० दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था झन्झन जटिल बन्दै गएको छ ।सेती अस्पतालका चिकित्सकका अनुसार केही दिनयता डाक्टर गोविन्द केसीको स्वास्थमा गम्भीर समस्याहरू देखिएका छन् ।

चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बस्नुभएका केसीको स्वास्थ्य स्थितिमा गम्भीर समस्या आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।बुधवार अस्पतालले विज्ञप्ति जारी गर्दै डा। केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै उहाँको पेटमा कडा खालको अल्सर भइ रक्तस्राव भएको आंशका समेत अस्पतालले गरेको छ ।

केसीले लिखित रूपमै मुखबाट पानी र नसाबाट रिडगर ल्याक्टेट बाहेक अन्य कुरा नलिने अडान लिएका कारण समस्या गम्भीर भएको अस्पताल जनाएको छ । उहाँको अवस्था बिग्रिएपछि अस्पतालले विशिष्ट सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको छ ।

अनशन बसेको दोस्रो दिनदेखि नै डा। केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । सुरुमा धनगढीको कृष्ण मन्दिरमा अनशन बस्नुभएका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सेती अस्पतालमा राखिएको थियो ।

यता सरकार पक्ष र डा. केसी पक्षबिच केही दिनदेखि लगातार वार्ता भएपनि टुंगोमा पुग्न सकेको छैन । मंगलबार सरकारी टोलीले डा। केसीलाई उपचारका लागि काठमाडौं लैजान खोजेको थियो । स्वास्थ्य मन्त्रालयलले हिजो काठमाडौं लैजान भनेर नेपाली सेनाको हेलिकप्टर पनि पठाएको थियो । तर डाक्टर केसीले आफूले काठमाडौं नजाने भनेपछि सेनाको हेलिकप्टर फिर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्