मुटुरोगीलाई सहुलियत उपचार सेवा दिँदै : डा. विक्रम सिलवाल



काठमाडौं । 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.शिवजी विक्रम सिलवाल उपराष्ट्रपति नन्द बहादुर पुन पासांगको नीजि चिकित्सक हुन् । उपराष्ट्रपति पासांगको स्वास्थ्यमा कुनै समस्या देखिएमा जुनसुकै बेलामा पनि उनी उपराष्ट्रपति कार्यालय-निवास हरित गृह लैनचौर पुग्छन् ।

उपराष्ट्रपति पासांगको स्वास्थ्य रेखदेखका लागि नेपाल सरकारले डा.सिलवाललाई ७ वर्षअघि सहायक मन्त्रीसरह सेवा सुविधा पाउने गरि राजपत्रांकित विशिष्ट श्रेणीको ‘नीजि चिकित्सक’ नियुक्त गरेको थियो । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सि जिन पिङ्ग नेपाल भ्रमणमा आउँदा राष्ट्रपति पिङ्गको सवारी अवधिभरी डा.सिलवालले नेपाल सरकारको तर्फबाट चिकित्सक टोलीको प्रमुख भएर आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरेका थिए ।

गत साउन महिनादेखि डा.सिलवालाई नेपाल सरकारले नेपाली ध्वजावाहक ‘नेपाल वायुसेवा निगम’को चिकित्सकको समेत जिम्मेवारी दियो । त्यहाँ उनी अहिले हप्तामा दुई दिन सोमबार र शुक्रबार समय मिलाएर निगमका कर्मचारी, विमान चालक र प्राविधिकको स्वास्थ्य परिक्षण गर्छन् ।

नीजि क्षेत्रको नर्भिक अस्पताल थापाथलीको मुटुरोग युनिटमा विगत १३ वर्षदेखि सक्रिय रुपमा कार्यरत रहेका उनले सयौं मुटुरोगीलाई एन्जियोग्राफि, एन्जिओप्लाष्टि र पेसमेकर राखेर बचाईसकेका छन् । उनले आफ्नो जन्मथलो ललितपुरको लुभु, लामाटार (हाल महालक्ष्मी नगरपालिका) का वासिन्दालाई सरकारी अस्पताल सरहकै शुल्कमा नर्भिक अस्पतालमा एन्जियोग्राफि, एन्जिओप्लाष्टि र पेसमेकरको साथै मुटुसम्वन्धी सम्पुर्ण उपचार दिँदै आएका छन् ।

‘मैले मेरो जन्मथलोका दाजुभाई, दिदीवहिनी र बा-आमालाई आफ्नो क्षमताले सक्ने उपचार सेवा न्यूनशुल्कमा दिईरहेको छु’—उनले भने—‘त्यसैले होला अहिले लुभु क्षेत्रका मुटुरोगीहरु टाढाको अस्पतालमा धाउनुको साटो नर्भिकमा आउन थालेका छन् ।’त्यसो त उनले आफु अध्यक्ष रहेको मुटुरोग सम्वन्धी संस्था नेशनल हार्ट फाउण्डेशन नेपाल मार्फत आफ्नो जन्मथलो लगायत मुलुकका दुर्गम ठाउँमा विभिन्न समयमा मुटुरोग शिवीर सञ्चालन गरेर निःशुल्क मुटु जाँच र औषधि वितरण पनि गर्दै आएका छन् ।

निशुल्क मुटुजाँच शिवीरमा फेला परेका र तत्काल उपचार गर्नुपर्ने मुटुरोगीलाई फाउण्डेशन मार्फत नर्भिक अस्पतालमा ल्याएर सहुलियतमा उपचार गर्ने गरेको उनले बताए । उनी बनेपास्थित शिर मेमोरियल अस्पताल, मध्यपुर अस्पताल र अल्का अस्पतालमा पनि आवद्ध छन् ।

डा.सिलवाल मुटुरोगीहरुको लागि आकस्मिक हेलि सर्भिस दिँदै आएको ‘मेडिक एक्सप्रेस नेपाल’–एयर एम्बुलेन्स तथा स्थल एम्बुलेन्स सेवाको कार्यकारी निर्देशक पनि हुन् । उनले नै नेपालमा मुटुरोगीहरुको तत्काल आकस्मिक उपचारको लागि एयर एम्बुलेन्स सेवा शुरु गरेका हुन् ।आफ्नो क्षेत्रमा अव्वल भएको कारण डा.सिलवाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सुप्रवल जनसेवाश्री तृतीय’बाट विभूषित गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्