नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन अशोज ४ र ५ गते



काठमाडौ (नेस) नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन यहि असोज ४ र ५ गते हुने भएको छ ।

आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. लोचन कार्कीले दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउँनुभयो । उहाँले दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन काठमाडौंको बबरमहलस्थित कार्की बेंक्वेटमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

डा.कार्कीले सम्मेलनमा ‘सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर’, ‘चिकित्सा शिक्षामा चुनौती र अवसर’, ‘संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि’, ‘महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर’, ‘खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण,’नेपालमा मेडिकल टुरिजम’ र ‘चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा’ लगायतका सात वटा विषयमा छलफल हुने बताउँनुभयो ।

जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा कार्कीले बताउँनुभयो ।

उहाँले भन्नुभयो, सम्मेलनमा विज्ञहरुसँग अन्तरक्रिया गरी निस्कने निचोडलाई कार्यपत्र बनई सरकारलाई सुझावको रुपमा पेस गरिने छ । ‘यो सम्मेलनमा विभिन्न विषयहरुमा गहन छलफल हुनेछ ।’ ‘छलफलबाट आएका सुझावहरुलाई हामीले स्वास्थ्य मन्त्रालयलाई नीतिहरु बनाउन र अन्य सुधारका लागि पेश गर्नेछौं ।’

संघका महासचिव डा बद्री रिजालले सम्मेलनमा देशभरबाट १ हजार बढी चिकित्सक तथा स्वास्थ्य क्षेत्रका विज्ञहरुको सहभागिता रहने अनुमान गरेको बताउँनुभयो । दोस्रो सम्मेलनका लागि संघले आयोजक समिति बनाएर काम गरिरहेको छ । संघका पूर्व अध्यक्ष अञ्जनीकुमार झाको अध्यक्षतामा गठित आयोजक समितिमा संघका अध्यक्ष डा लोचन कार्की, महासचिव डा बद्री रिजाल, डा एन्जल मगर र डा चन्दा कार्की रहेका छन् ।

डा चन्दा कार्की सम्मेलनको वैज्ञानिक समिति अध्यक्ष समेत हुन् । डा कार्कीको नेतृत्व रहेको वैज्ञानिक समितिमा डा सन्ध्या चापागाईं, डा अनुपमा कार्की, डा अनुपमा सुवाल, डा कृष्ण अग्रवाल, डा सरोजा कार्की पाण्डे, डा सुमनराज ताम्राकार, डा पवनकुमार हमाल, मिलनचन्द्र खनाल, डा सुजित भुषाल र डा अलिस्का निरौला रहेकाछन् ।

सम्मेलनको सल्लाहकार समितिमा डा रमेशकान्त अधिकारी, डा केदारनरसिंह केसी, डा किरण रेग्मी, डा कुसुम थापा र डा मिता सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्