डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, वार्ता टोली गठन



काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारले वार्ता टोली गठन गरेको छ । भदौ २७ गतेदेखि ७ सूत्रीय मागसहित धनगढीको एलएन चोकस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा उहाँ २० औं आमरण अनसन बस्नुभएको छ ।

अनसनरत डा.केसीको माग पूरा गर्न नेपाल सरकारले वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संंघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरेको जनाएको छ । चिकित्सक संघकालाई भने डा.केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरि टोलीमा राखिएको जनाएको छ ।

वार्ता टोली गठन गरेसँगै सरकारले डा.केसीलाई अनसन तोड्न आग्रह गरेको छ । यस अघिका सहमती कार्यान्वयन गर्नुपर्ने माग राख्दै धनगढीमा ६ दिनदेखि आमरण अनसन बस्नुभएका डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । डा.केसीको स्वास्थ्यमा गम्भीर खालका समस्या रिगटा लाग्ने, कमजोर हुने, मुटुको धडकनमा गडबडी लगायतका स्वास्थ्य समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता डा. केसीको मागप्रति आफू गम्भिर भएको बताउनुभएको छ ।

स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा अभियन्ता डा. केसीले उठाएका मागहरूका विषयमा गहन छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ । यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक छ । हामीले यस विषयमा छलफल गरिरहेका छौं ।’

तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर बृद्धि सुनिश्चित गरिनुपर्ने माग राख्दै अनसनरत हुनुहुन्छ ।

संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने, सरकारले तोकेको सूचीअनुसारका सबै निःशुल्क औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरिनुपर्ने डा.केसीको माग रहेको छ ।

अनसनरत डा.केसीको स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ सेती प्रादेशिक अस्पतालको वार्डमा भर्ना गरिएको भए पनि उहाँले कुनै औषधि लिन नमान्नुभएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्