अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै

0
Shares

सुदूरपश्चिम।

पाँच दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै बिसौँ पटक अनशन बसेका डा केसीको स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी भर्ना गरिएको छ । अस्पतालका चिकित्सक डा शेरबहादुर कमरले डा केसीमा श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, रिङगटा लाग्ने, मुटुको धड्कन बढ्ने, थकान महसुस हुने जस्ता समस्या देखिएको जानकारी दिए ।

डा कमरले भने, “पाँच दिनदेखि केही पनि नखाई अनशन बस्नु भएकाले उहाँको रगतमा चिनीको मात्रा कम भएको, शरीरमा पोषणतत्व र पानीको अभाव भई रक्तचाप कम हुँदै गएकाले जुनसुकै समयमा पनि ज्यान जोखिममा पर्नसक्ने खतरा छ ।”

डा केसीलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ । यसअघि पनि उनी पटकपटक अनशन बसेका थिए । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सेती प्रादेशिक अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ ।