अनशनरत डा. केसीको जीवन रक्षा गर्न मानव अधिकार आयोगको माग

0
Shares

धनगढी । कैलालीको धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । धनगढीमा गत सोमबारदेखि २०औं अनशन थालेका केसीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले केसीको टाउको दुख्ने, रिंगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांशपेशी दुख्ने, मुटुको धड्कन बढ्नेदेखि पाँचौ दिनमा २ केजी तौल घटेको जानकारी गराएको छ । त्यसैगरी पोषण तत्व र पानीको मात्रा कम भइ जटिलता बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । साथै उहाँको अवस्थाका कारण थप जटिलताहरु थपिन सक्नेसमेत बताइएको छ ।

केसीको हाल अस्पतालमा चिकित्सकहरुको उच्च निगरानीमा राखी उपचार भइरहेको छ । उहाँ यसअघि पनि पटक–पटक अनसन बसिसक्नुभएको छ ।

यस्तै अनशनरत केसीको अवस्था बुझ्न शुक्रबार राष्ट्रिय मानव अधिकारको टोली धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगेको छ । अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको टोली अस्पताल पुगेको हो ।

शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न पाउने नागरिकको अधिकार भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक मोहनदेव जोशीले बताउनुभयो । लामो समयसम्म अनसन बसेर माग राख्नुपर्दा स्वास्थ्यमा आउने जटिलताबारे सरकार जिम्मेवार हुनुपर्ने निर्देशक जोशी बताउँनुहुन्छ ।

केसीको जीवन रक्षा गर्ने दायित्व राज्यको भएकाले उनले राखेका मागबारे सरकार गम्भीर हुनुपर्ने जोशीको भनाइ छ । यता, सरकारका पक्षबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले अनशनरत केसीको मागप्रति गम्भीर भएको बताउनुभएको छ । उहाँले स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा अभियन्ता डा केसीले उठाएका मागका विषयमा गहन छलफल भइरहेको बताउनुभएको हो ।

यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको उहाँको भनाइ छ ।

धनगढीमा अनसनरत डा केसीले तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग राख्नु भएको छ ।

संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने, सरकारले तोकेको सूचीअनुसारका सबै निःशुल्क औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरिनुपर्ने लगायतका डा केसीमा मागहरु छन् ।