मुक्तिकोटको कुपोषण घटाउन स्मार्ट सर्वेक्षण शुरु

0
Shares

बाजुरा । 

स्वामीकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटमा कुपोषणको स्मार्ट सर्वेक्षण शुरु भएको छ । २०७८ साउनदेखि हालसम्म ५ वर्षमुनिका ६ जना बालबालिकाको कुपोषणकै कारण मृत्यु भएपछि उक्त गाउँमा कुपोषण स्मार्ट सर्वेक्षेण गरिएको हो ।
प्रदेश तथा स्थानीय तहको नेतृत्व तथा युनिसेफ, सुआहारालगायतका सरोकारवाला निकायको संलग्नतामा मुक्तिकोटको पोषणको अवस्थाको लेखाजोखा भएको छ ।

उक्त लेखाजोखाबाट ६ महिनादेखि ५ वर्षमुनिका कुल २ सय ९३ बालबालिकामध्ये ४५ जनामा मध्यम शीघ्र कुपोषण र १६ जनामा कडा शीघ्र कुपोषणका देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश चन्दले बताउनुभयो ।मुक्तिकोटमा खाद्य सुरक्षाको अवस्था अत्यन्त कमजोर रहेको र जसमा जम्मा २ सय ४३ घरधुरीमा वर्ष दिनसम्म खान पुग्ने १ परिवार पनि नरहेको, खाद्य आपूर्ति र स्वच्छ पानीको अभाव, लैंगिक विभेद, बालविवाह प्रमुख समस्या रहेको छ भने समुदाय नै पहिरोको जोखिममा छ । तसर्थ मुक्तिकोट त प्रतिनिधि स्थान मात्र हो ।

यस्ता समस्या अन्य धेरै स्थानमा हुन सक्छ भनेर ईयु र युनिसेफ नेपालको आर्थिक र प्राविधिक सहयोगमा प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा शनिबारबाट गणक र सुपरभाइजरलाई पाँचदिने स्मार्ट सर्वेसम्बन्धी तालिम सदरमुकाम मार्तडीमा शुरु भएको हो ।प्रदेश नीति तथा योजना आयोग बहुक्षेत्रीय पोषण योजनाका प्रदेश संयोजक ज्ञानेन्द्र दवाडीले भन्नुभयो– ‘यस समस्यालाई बहुआयामिक दृष्टिकोणबाट विश्लेषण गरी विकासका सबै आयामहरु (कृषि, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, महिला सशक्तिकरण, जीविकोपार्जन, सीपमूलक कियाकलापलाई एकीकृत गरी तीनै तहका सरकारले विशेष प्याकेज तयार गरी लक्षित वर्ग केन्द्रित बहुक्षेत्रीय कार्यक्रम लागू गर्न जरुरी देखिन्छ ।’

अनुगमन मूल्याङ्कन विशेषज्ञ डा. सञ्जय रिजालले भन्नुभयो– ‘यो सर्वेक्षणपश्चात जिल्लाको पोषण अवस्थाको यथार्थ चित्रण हुने र आगामी दिनमा नीति तथा योजना बनाउन महत्वपूर्ण हुने विश्वास छ ।’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत डीएन गिरीले यो सर्वेक्षण कार्यक्रमलाई आधार मान्दै आगामी दिनमा अन्य जिल्लामा विस्तार गर्ने तयारीमा लागेको जानकारी दिनुभयो ।

तालिममा २४ जना स्वास्थयकर्मीलगागत अन्यको उपस्थिति रहेको थियो । मानव विकास प्रतिवेदन २०१४ अनुसार बाजुरा जिल्लाको मानव विकास सुचाकांक सबैभन्दा कम अर्थात् ०.४२५ रहेको छ । बाजुरा जिल्लामा ९ स्थानीय तह छन् । बाजुरेलीले बेहोर्ने अर्को दुःख हो– खाद्य संकट ।जिल्लावासीको प्रमुख पेसा कृषि हो । तर, खाद्य संकटको हिसाबले यो जिल्ला सुदूरपहाडकै सबैभन्दा जोखिमयुक्त जिल्ला हो । जिल्लामा बाली सप्रेकै सिजनमा समेत वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार ४० प्रतिशत बाजुरेलीलाई आफ्नो उत्पादनले ३ महिनासम्म पनि खान पुग्दैन । त्यसो त ९.२१ प्रतिशत जमिन मात्रै खेतीयोग्य छ, सिँचाइ १.४२ मा मात्रै छ । चरम भोकमरी, गरिबी, अशिक्षा र भौगोलिक विकटताका कारण पोषणको पहँुचबाट टाढा र कुपोषणको मात्रा धेरै रहेको छ ।

स्वामिकार्तिक–१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहँुदा गत महिना बाटोमा छोरा जन्माउनुपर्ने अवस्था आएको सन्दर्भ पनि उत्तिकै दर्दनाक छ । मुक्तिकोटमा रहेको सामुदायिक स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टरमा दुवै जना कर्मचारी नहुनु र बर्थिङ सेन्टर पनि व्यवस्थित नहँदा मुक्तिकोटबासीले यो समस्या झेल्नुपरेको स्वामीकार्तिक खापर गाउँपािलका अध्यक्ष भरतबहादुर रोकायले बताउनुभयो । बर्थिङ सेन्टरको स्तरोन्नति बनाउने प्रयास गरिएको छ । एक महिनाभित्रै खोलिकोटमा रहेको सामुदायिक स्वास्थ्यलाई बर्थिङ सेन्टरमा स्तरोन्नति गर्दै सेवा बिस्तार गरिने अध्यक्ष रोकायले जानकारी दिनुभयो ।

‘बच्चा त बाटोमा जन्माउनुपर्ने अवस्था छ । यसले पनि मुक्तिकोटमा बालस्वास्थ्य अवस्था कस्तो छ सहजै अनुमान गर्न सकिन्छ । जतिसक्दो चाँडो हामी कुपोषण न्यूनीकरण गर्न गाउँपालिकाको ध्यान केन्द्रित हुनेछ’ –उपाध्यक्ष मैना जोशीले भन्नुभयो । बाल स्वास्थ्यमा खेलवाड गरे ठाउँको ठाउँ कारबाही गरिने उपाध्यक्ष जोशीले बताउनुभयो ।

भौगोलिक विकटता, खेतीयोग्य जमिनको अभाव, खडेरी, पानीको स्रोतको अभाव, चरम बेरोजगारी, शिक्षा, खानेपानी, सरसफाइजस्ता आधारभूत सेवाको अभाव, बालविवाह, छाउपढी जस्ता सामाजिक कुरीति विद्यमान हुनु, अन्य जीविकोपार्जनका लागि वैकल्पिक उपाय र अन्य आम्दानीका स्रोतको कमी, स्वास्थ्य सेवाका लागि सहज पहुँच नहुनु, सामाजिक सुरक्षाका कार्यक्रमहरु यथोचित सुचारु नहुनुले पनि पोषणको अवस्थामा अपेक्षित सुधार हुन सकेको नसकेको सरोकारवालाको भनाइ छ ।