टिकट व्यवस्थापनमा सकस छ : माधव नेपाल


काठमाडौं  ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भएको बताउनुभएको छ । उहाँले पहिलापहिला चुनाव लड्न नपरे पनि हुन्थ्यो भन्नेहरु नै निर्वाचन ताका टिकट लिन दौडधुप गरिरहेको टिप्पणी पनि गर्नुभयो ।

राजधानीमा आयोजित एक कार्यक्रममा नेता नेपालले उठेर दुई कदम हिँड्न नसक्ने वृद्धहरुले समेत टिकटको आकांक्षा राखेको बताउँदै भन्नुभयो– ‘ती आकांक्षीहरु टिकट नपाउँदा बेहोस हुने हुन् कि भन्ने आफूलाई चिन्ता लागेको छ । उठेर दुई कदम हिँड्न सक्दैन बिचरा बूढो भइसक्यो ।

तैपनि मर्ने बेलामा एकचोटि त पाऊँ भनेर प्रेसर गरेका छन् । अरु केही भएन भने नाम मात्रै भए पनि त्यहाँ टाँसिन पाऊँ भनेर मरिहत्ते गर्ने गरेका छन् ।’कार्यक्रममा अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्तालाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराउनुभयो । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उहाँको भनाइ थियो ।