भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्छ : प्रचण्ड

0
Shares

 काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै दाहालले मुलुकको निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गरेर जानुपर्ने बताउनुभएको हो ।

निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरेर अहिले व्याप्त विसंगति, विकृति, कुशासन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई एकताबद्ध गरेर समृद्धिमा जान सकिने आफूलाई विश्वास रहेको जिकिर गर्दै दाहालले भन्नुभयो– ‘संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्छ अनि मात्रै भ्रष्टाचार अन्त्य हुन्छ । ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्ने साइनबोर्ड राखेर भित्र भ्रष्टाचारबाहेक केही नगर्ने व्यक्तिहरूसमेत मुलुक सञ्चालनमा रहेका छन् ।’

उहाँले भन्नुभयो– ‘कैयौं प्रधानमन्त्रीले भन्ने गरेको तपाईं हामीले सुनेकै छौं ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने साइनबोर्ड टाँग्ने, त्यो साइनबोर्डभित्र भ्रष्टाचारबाहेक गर्दै नगर्ने, के कारणले यो भइराखेको छ ? यो व्यक्तिको मात्रै दोष हो कि, यो प्रणालीमा कहीं खोट छ ? आज हामी सबैले विचार गर्नुपर्ने विषय हो ।’

फरक प्रसंगमा दाहालले माओवादीले लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक व्यवस्था ल्याएकाले त्यसको जस आफूले पाउनुपर्ने दाबी गर्नुभयो । गणतन्त्र, समावेशी, समानुपातिक व्यवस्थाको अधिकार सबैले पाउनुप¥यो भन्दा मन नपराउने मान्छे रहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘राजनीतिक अस्थिरताको जड नै प्रचण्ड हो भने जस्तो गरी बजार हल्ला गरिएको छ । प्रचण्ड भनेपछि सबै अस्थिरताको कारक यही हो, यो रहँदासम्म देशले सुख पाउँदैन भन्ने मान्छे पनि छन् । तर माओवादी र माओवादी नेतृत्व रहँदासम्म बुर्जुवा, दलाल र भ्रष्टहरूलाई चैनमा बस्न दिइने छैन ।’कार्यक्रममा प्रचण्डले आगामी निर्वाचनमा जनताले सत्ताको चाबी माओवादीलाई दिने ठोकुवा पनि गर्नुभयो ।