‘अग्निपथबारे निर्वाचनपछि बन्ने सरकारले निर्णय गर्नेछ’

0
Shares

काठमाडौं ।

परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथमा नेपाली युवालाई सहभागी गराउने विषयमा निर्वाचनपछि बन्ने सरकारले निर्णय गर्ने बताएको छ ।

नेपालले हाललाई अग्निपथमा नेपाली युवालाई सहभागी नगराउने निर्णय लिएको छ ।मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘भारतको अग्निपथमा सहभागी हुने वा नहुनेबारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना छैन । यो चुनावी सरकार भएकाले पनि र राष्ट्रिय सहमतिसमेत आवश्यक पर्ने भएकाले पनि तत्काल निर्णय हुने सम्भावना नभएको हो ।’

यसअघि बुधबार भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाले आयोजना गरेको कार्यक्रममा अग्निपथ योजनाबारे नेपालले समयमा निर्णय नलिए गोर्खा सैनिकका लागि छुट्याइएको कोटा फिर्ता लिन बाध्य हुने बताउनुभएको थियो ।

उहाँले हालै मात्र नेपालको भ्रमण गर्नुभएको थियो । नेपाल भ्रमणका क्रममा उहाँले नेपालाी सेनालगायतसँग यसबारे जिज्ञासा राख्नुभएको थियो ।