किनमेल गर्दा विद्युतीय भुक्तानी गर्नुस्

ललितपुर प्रहरीको अपिल

168
Shares

ललितपुर । 

जिल्ला प्रहरी परिसर ललितपुरले चाडवाडमा किनमेल गर्दा विद्युतीय भुक्तानी गर्न आग्रह गरेको छ । ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक ( एसपी) सुधीरराज शाहीले रकम बोकेर किनमेल गर्दा चोरी हुने सम्भावना बढेको बताउँदै अनलाइन भुक्तानी गर्न अपिल गर्नुभएको हो ।

दशैं, तिहार, छठलगायत चाडवाडलक्षित सुरक्षा योजनाबारे जानकारी गराउँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘गृह मन्त्रालयको निर्देशनअनुसार सुरक्षा योजना तयार गरिएको हो । परिसरले भदौ २० देखि नै सुरक्षा योजना कार्यान्वयन शुरु गरेको हो, यो छठसम्म चल्नेछ ।’

बढी भीडभाड हुने क्षेत्रमा बिहान ६ देखि बेलुकी ७ बजेसम्म गस्ती गर्ने, मुख्य चोक, सपिङ मल, गहना पसल, बैंक तथा वित्तीय संस्थालगायतका क्षेत्रमा आवश्यकताको आधारमा २४ सै घण्टा प्रहरी परिचान गरिने जानकारी दिँदै प्रवक्ता शाहीले भन्नुभयो– ‘चाडवाडको समयमा कुनै अप्रिय घटना हुन नदिन विशेष निगरानी अपनाएका छौं ।’चोरी, लुटपाट नियन्त्रण, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको कृतिम अभाव हुन नदिन, सार्वजनिक सवारीसाधनमा हुने मनपरी भाडा नियन्त्रण गर्न समेत प्रहरी परिचालन गरिएको प्रवक्ता शाहीले बताउनुभयो ।

परिसरले दिउँसोको चोरी नियन्त्रण गर्न एक दर्जनभन्दा बढी स्थानमा एम्बुसिङ टोली र करिब तीन सयको संख्यामा सादा प्रहरी परिचालन गर्नुका साथै आकस्मिक स्किनिङ, गहन चेकिङ, सीमाक्षेत्र सिल गरी विशेष अप्रेसन गर्ने लगायतका विशेष सुरक्षा योजना अघि बढाएको जनाएको छ ।प्रवक्ता एसपी शाहीले पैदल, साइकल, क्विक रेस्पोन्स टिम (क्यूआरटी), मोटरसाइकल गस्ती र मोबाइल भ्यान गस्ती गरिने पनि जानकारी दिनुभयो । उहाँले लागू गरेको चाडवाडलक्षित सुरक्षा योजनाअनुसार सपिङ मल, गहना पसल, बैंक तथा वित्तीय संस्था र ठूला बजारक्षेत्रलगायतका स्थानमा प्रहरी परिचालन गरिएको जानकारी दिँदै भन्नुभयो– ‘हामीले सुरक्षा योजना लागू गरिसकेको छौं, कसैलाई समस्या परे नजिकैको प्रहरीलाई खबर गर्नुहोला ।’

प्रहरीले जुवातास नियन्त्रण गर्ने, जथाभावी हुलहुज्जत गर्नेमाथि कारबाही गर्ने, चोरी र गुण्डागर्दी नियन्त्रण गर्नेलगायतका सुरक्षा योजना अघि बढाएको जनाएको छ । त्यसै गरी जिल्लासँग सिमाना जोडिएका २४ स्थानमा आवश्यकताको आधारमा विशेष अप्रेसन र चेकजाँच गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै प्रवक्ता एसपी शाहीले भन्नुभयो– ‘त्यसका लागि परिसरले सबै वृत्त, प्रभाग र चौकीलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । चाडवाडलक्षित सुरक्षार्थ दुई सिफ्टमा १ हजार ८९ जना प्रहरी परिचालन गरेका छौं ।’ उहाँका अनुसार चाडबाडलक्षित विभिन्न स्थानमा ४ सयको हाराहारीमा सीसीटिभीले निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसका लागि ललितपुर परिसर, चापागाउँ, सातदोबाटो वृत्त, पुल्चोक, सानेपा, वुंगमती प्रभागलगायतका कार्यालयमा कन्ट्रोल रुम राखिएको बताइएको छ ।घर छाडेर बाहिर जाँदा नजिकैको प्रहरी कार्यालयलाई जानकारी गराउन अनुरोध गर्दै प्रवक्ता शाहीले भन्नुभयो– ‘घरभाडामा बस्नेले पनि चाडबाडमा घर छाड्दा घरधनीलाई घरमा बसेको प्रमाणका लागि कुनै पनि प्रमाण खुल्ने कागजात र मोबाइल नम्बर दिन अनुरोध गरेका छौं ।’

प्रहरी परिसर ललितपुरले विगत ५ वर्षअघिको सुरक्षा योजनासमेत अध्ययन गरी सोको आधारमा यो वर्षको योजना लागू गरेको जनाएको छ । प्रहरीले दशैं र तिहारको समयमा खाद्यान्नको कृतिम अभाव देखाउने, मिसावट गर्नेमाथि समेत कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । त्यसै गरी जिल्ला प्रशासन कार्यालयको सहयोगमा अनुगमन कार्यलाई तीव्र बनाउने, सडकमा जथाभावी पसल राख्नेमाथि कारबाही गर्ने, सबै नगरवासीको घरमा पर्चा वितरण गर्ने, प्रहरी परिचालन गरी घरदैलो अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको पनि प्रहरी परिसर ललितपुरले जनाएको छ ।