चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन असोज ४ र ५ गते हुँदै



काठमाडौं । नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन असोज ४ र ५ गते काठमाडौंको बबरमहलस्थित कार्की व्यांकटेमा गर्ने भएको छ ।

संघले सम्मेलनका लागि आवश्यक तयारी अगाडि बढाइसकेको जनाएको छ । सम्मेलनमा संघले यो वर्ष ’प्यान्डेमिक प्रिपेडनेस इन नेपाल’ अर्थात नेपालमा महामारीको तयारीका विषयमा केन्द्रित रहेको राष्ट्रिय सम्मेलन गर्न लागेको जनाएको छ ।

सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उदघाटन गर्ने कार्यतालिका रहेको जानकारी गराइएको छ । दोस्रो सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल हुने उल्लेख गरिएको छ । छलफलका विषयहरुमा ’सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर’, ’चिकित्सा शिक्षामा चुनौती र अवसर’, ’संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि’, ’महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर’, ’खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण,’ ’नेपालमा मेडिकल टुरिजम’ र ’चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा’ रहेका छन् ।

जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिनुभयो ।

अध्यक्ष डा कार्कीका अनुसार सम्मेलनमा विज्ञहरुसँग अन्तरक्रिया गरी निस्कने निचोडलाई कार्यपत्र बनाई सरकारलाई सुझावको रुपमा पेस गरिने छ । ’यो सम्मेलनमा विभिन्न विषयहरुमा गहन छलफल हुनेछ,’ उहाँले भन्नुभयो, ’छलफलबाट आएका सुझावहरुलाई हामीले स्वास्थ्य मन्त्रालयलाई नीतिहरु बनाउन र अन्य सुधारका लागि दिने छौं ।’

दोस्रो सम्मेलनका लागि संघले आयोजक समिति बनाएर काम अगाडि बढाइसकेको छ । संघका पूर्व अध्यक्ष अञ्जनीकुमार झाको अध्यक्षतामा गठित आयोजक समितिमा संघका अध्यक्ष डा लोचन कार्की, महासचिव डा बद्री रिजाल, डा एन्जल मगर र डा चन्दा कार्की हुनुहुन्छ । डा चन्दा कार्की सम्मेलनको वैज्ञानिक समिति अध्यक्ष समेत हुनुहुन्छ । डा कार्कीको नेतृत्व रहेको वैज्ञानिक समितिमा डा सन्ध्या चापागाईं, डा अनुपमा कार्की, डा अनुपमा सुवाल, डा कृष्ण अग्रवाल, डा सरोजा कार्की पाण्डे, डा सुमनराज ताम्राकार, डा पवनकुमार हमाल, मिलनचन्द्र खनाल, डा सुजित भुषाल र डा अलिस्का निरौला समितिमा हुनुहुन्छ ।

त्यसैगरि सम्मेलनको सल्लाहकार समितिमा डा रमेशकान्त अधिकारी, डा केदारनरसिंह केसी, डा किरण रेग्मी, डा कुसुम थापा र डा मिता सिंह रहनुभएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्