सुआहारा कार्यक्रमको सिकाइ आदान-प्रदानसम्बन्धी कार्यशाला गोष्ठी (तस्बिरसहित)



म्याग्दी । सुआहारा कार्यक्रमको सिकाइ आदान–प्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । हिजो (बुधबार) जिल्लाको पश्चिममा रहेको मंगला गाउँपालिकाको केन्द्र बाबियाँ चौरमा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

मंगला गाउँपालिकाको आयोजनामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सिकाइ आदान–प्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । दातृसंस्था सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदान–प्रदानसम्बन्धी कार्यशाला गोष्ठी उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले पालिकाको पोषण तथा स्वास्थ्य अवस्था सुधार गर्न रैथाने बाली संरक्षण, व्यावसायिक केरा खेती, सुन्तलाको पकेट क्षेत्र स्थापनालगायत कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो ।

रोकाले पालिकाभित्र नमुना बाख्राको खोर निर्माण, बालविकासमा अध्ययनरत बालबालिकाहरुलाई दिवा खाजासँगै पोषणका लागि एक–एक गिलास दूध दिनेलगायत कार्यक्रमहरु लागू गरी कार्यान्वयन गरिएको जानकारी दिनुभयो । महिला र बालबालिकाको पोषण अवस्था सुधार गर्न प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले समुदायस्तरमा पुगेर महिला तथा बालबालिकाहरुको पोषण अवस्थामा सुधार ल्याउन सुआहारा कार्यक्रमले महत्वपूर्ण सहयोग पु¥याएको बताउनुभयो । उहाँले पालिकाको ग्रामीण क्षेत्रमा अझै पनि पोषण र स्वास्थ्य अवस्था सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै सुआहारा कार्यक्रमको निरन्तरताका लागि गाउँपालिकामार्फत आवश्यक पहल गरिने बताउनुभयो ।

सुआहारा कार्यक्रमका निर्देशक ब्रह्मध्वज गुरुङले महिला तथा बालबालिकाको पोषण अवस्था सुधार गर्ने मुख्य जिम्मेवारी पालिका र जनप्रतिनिधिको रहेको बताउँदै प्रस्तुत स्वास्थ्यका तथ्याङ्कहरुको विश्लेषण गर्दा सुधारोन्मुख देखिएको धारणा राख्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकबाट गरिएको निर्णयसहितका प्रतिबद्धताहरु वाचन गर्दै आगामी दिनमा गाउँपालिकाको पोषण अवस्था सुधार्न समितिको वैठक नियमित बस्ने र पोषण सुधारमा आवश्यक पहल गरिने बताउनुभयो । मंगला–२, बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती क्षत्रीले समुदायस्तरमा महिला तथा बालबालिकाहरुको पोषण अवस्था सुधार्न सुआहारा तेस्रो चरणको कार्यक्रम आवश्यक रहेको भन्दै माग गर्नुभयो ।

कार्यक्रममा मंगला गाउँपालिकाको स्वास्थ्य शाखाका अनमी पार्वती पन्त, कृषि शाखाका नायव प्राविधिक सहायक तारा बानियाँ, पशु शाखाका नायव प्राविधिक सहायक आकाश जिसी, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, सुआहारा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र अधिकारी र फिल्ड संयोजक बालकुमारी पुनले आ–आफ्नो शाखा, संस्था र कार्यक्रममार्फत सञ्चालित गतिविधिसहित प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अवसरमा गाउँपालिकाको पोषण तथा स्वास्थ्य अवस्था सुधार गर्नका लागि विभिन्न सात बुँदे प्रतिबद्धतासमेत जारी गरिएको छ ।

सुनौलो हजार दिनको महिला एकमाया बुढाथोकीलाई पोषणयुक्त खानेकुरा हस्तान्तरण गरी गोष्ठीको उदघाटन गरिएको थियो । कार्यक्रम गाउँपालिकाका अध्यक्ष रोकाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत खत्रीको स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश र उद्यम विकास सहजकर्ता बबिता पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय स्रोतव्यक्ति रेशम बुढाथोकी र महिला स्वास्थ्य स्वयंसेविका यामकुमारी आचार्यले अनुभव सुनाउनुभएको थियो ।

गोष्ठीको अवसरमा सुआहारा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत अधिकारीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खत्रीलाई सुआहाराले निर्माण गरेको पालिका प्रोफाइल, योजनालगायत कागजातहरु हस्तान्तरण गर्नुभयो । यसअघि पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक एवं सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदान–प्रदानसम्बन्धी कार्यशाला गोष्ठी बेनी नगरपालिका, धवलागिरि र मालिका गाउँपालिकामा सम्पन्न भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्