कांग्रेसले तय ग-यो उम्मेदवार चयन गर्ने मापदण्ड

0
Shares

काठमाडाैं । 

सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाउनुभएको थियो ।

बैठकमा संसदीय समितिमा सदस्य नरहेका नेता शेखर कोइरालासहित केन्द्रीय सदस्यहरूलाई समेत आमन्त्रण गरिएको थियो । बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् ।
त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ । ‘प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत उम्मेदवार बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको छ ।

त्यस्तै, उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ ।महामन्त्री थापाले यसपटक एक निर्वाचन क्षेत्रबाट एक उम्मेदवार हुने गरी समानुपातिकतर्फ उम्मेदवार चयन गरिने मापदण्ड तय गरिएको बताउनुभयो ।

‘विगतमा नेताको क्षेत्रबाट ५-७ जनासम्म हुने, तर कुनै क्षेत्रमा एक जना पनि उम्मेदवार नहुने अवस्थासमेत रहेछ,’ थापाले भन्नुभयो– ‘यसपटक हामीले सबै क्षेत्रबाट उम्मेदवार हुने गरी उम्मेदवार चयन गर्ने निर्णय गरेका छौं ।’संसदीय समिति २५ सदस्यीय हुने व्यवस्था छ ।

तर, सभापति देउवाले समितिलाई पूर्णता दिन सक्नुभएको छैन । सभापतिसहित पदाधिकारीबाहेक नेता रामचन्द्र पौडेललाई मात्रै समितिको सदस्य बनाइएको छ । बुधबारको बैठकले उम्मेदवार चयनका मापदण्ड मात्रै तय गरेको छ भने उम्मेदवारबारे छलफल गर्न बिहीबार दिउँसो साढे १२ बजे पुनः बैठक बस्ने कांग्रेसले जनाएको छ ।