१७० वनस्पति खान्छन् उत्तरका बासिन्दा

0
Shares

धादिङ । 

बारीमा खेती नगरिने तर खानयोग्य भएका र स्थानीय बासिन्दाले खाने गरेका वनस्पतिहरुको वर्गीकरण गरिएको छ । यी वनस्पतिले पोषण सुरक्षाका लागि उल्लेख्य योगदान गरेको अध्यायनमा देखिएको छ ।

जर्मन संघीय आर्थिक सहयोग र विकास मन्त्रालय (बीएमजेड), वेल्थ हंगल हिल्फे (डब्ल्यूएचएच) को आर्थिक साझेदारीमा जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) ले उत्तरी धादिङको रुबिभ्याली, खनियाबास र गंगाजमुना गाउँपालिकमा गरेको अध्यानले १ सय ७० प्रजातिका जंगली खानयोग्य वनस्पतिहरुको पहिचान र वर्गीकरण गरेको छ । अध्ययनका क्रममा २ सय ५७ प्रजातिका नामावली संकलन गरेको थियो ।

स्थानीय बासिन्दाले वर्षभरि उपभोग गर्ने मसलामा १३ दशमलव ६ प्रतिशत, तरकारीमा १७ दशमलव २ प्रतिशत र फलफूलमा १९ दशमलव ६ प्रतिशत तौलको आधारमा जंगली वनस्पतिको योगदान रहेको अध्ययनले देखाएको छ । यस क्षेत्रका नागरिकहरु ८८ प्रतिशतले आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने अवस्था रहेको देखिएको छ ।

ग्रामीण दुर्गम स्थानका गरिब र सिमान्तकृत समुदायका लागि जंगली खानयोग्य वनस्पति खाद्य तथा पोषण सुरक्षा, आयआर्जन र जीविकोपार्जन गर्ने प्रमुख आधार देखिएकाले संरक्षण, व्यवस्थापन र निरन्तर उपलब्धताका लागि स्थानीय सरकार, समुदाय र जीविकोपार्ज गर्नेहरुको ध्यान जान जरुरी देखिएको छ ।

निगुरो, फापरे साग, खोले साग, अल्लो, सिस्नो आदिलाई गरिबले तरकारीका रुपमा छाक टार्ने वनस्पतिका रुपमा रहेको छ । अल्लो, फापरेसाग, निगुरो, खोलेसाग सिस्नो सजिलै पाइने वनस्पतिहरु हुन् । चामलभन्दा बढी राखेर सिस्नो, निगुरो, चिप्ले सागबाट छाक टार्नेहरु पनि रहेको पाइएको छ । खाना रुचाउने जंगली च्याउ र निगुरो, अन्नसँग साटेर प्रयोग गरिने वन तरुल, निगालोको टुसा च्याउ रहेको छ । सिस्नो टिमुर र चिप्लेलाई स्थानीयबासीले औषधीका रुपमा समेत प्रयोग गर्दै आएको देखिएको छ । ओखर, बाँको, च्याउ, सिस्नोलाई प्रशोधन गरेर पछिका लागि भण्डारण गर्ने गरिएको समेत समुदायमा पाइएको थियो ।

अध्ययनमा संलग्न विज्ञ लिबर्डका कृषि तथा प्राकृतिक स्रोत व्यवस्थापन अधिकृत शम्भु बस्नेतले बारीमा फलाइने, किनेर प्रयोग गरिने तरकारीको तुलनामा जंगली वनस्पतिहरुले १४ देखि १८ प्रतिशतसम्म योगदान गरेको देखिएकाले यसको संरक्षण, नयाँ पुस्तामा ज्ञानको हस्तान्तरण हुनुपर्ने बताउनुभयो ।

वनस्पतिको नाम, विशेष गुण, प्रयोग विधि आदिबारे समुदाय स्तरमा छलफल र अभिलेखीकरण गरेर राख्नुपर्ने, २० प्रतिशत योगदान रहेको वनस्पतिहरुको संरक्षणमा ध्यान दिनुपर्ने, खानामा विविधीकरण गरेर खाने बानीको विकास गर्न अध्ययनले सुझाव दिएको छ ।