चोलेन्द्रले नाम लिएकासँग आज छलफल

0
Shares

काठमाडौं ।

संसद्को महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएकासँग आज बिहीबार छलफल गर्ने छ ।

समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । प्रवक्ता गौतमका अनुसार राणाले बयानका क्रममा नाम लिएका सर्वोच्च अदालतका बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरु, नेपाल बार एसोसिएसनका पूर्वपदाधिकारीहलाई बोलाउन लागिएको हो । समितिका अनुसार आज बिहीबार बिहान ८ः३० बजेदेखि तिनीहरुसँग छलफल शुरु हुनेछ । सबैसँग छलफल गरिसकेपछि समितिले राणासँग पूरक प्रश्न सोध्नेछ ।

महाअभियोग लागेका राणासँग संसद्को समितिले मंगलबार पाँचौंपटक बयान लिएको थियो । यसअघि भदौ १५ गते बुधबार, १६ गते बिहीबार, १९ गते आइतबार र भदौ २६ गते आइतबार गरी सांसद्हरुले राणालाई कुल ४३ वटा प्रश्न सोधेका थिए । सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा राणाले बहालवाला न्यायाधीश, पूर्वप्रधानन्याधीश, वरिष्ठ अधिवक्ता र नेपाल बारका पूर्वपदाधिकारीहरुको नाम किटेर उनीहरुको भूमिका, मुद्दाको फैसलालाई प्रभावित पार्न गरेको प्रयास, आचरणबारे बोल्नुभएको थियो । तीनपटक गरी सोधिएका ३६ वटा प्रश्नको जवाफ दिने क्रममा जबराले आफ्नो बचाउ गर्दै सो आरोप लगाउनुभएको हो ।

जबराले नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र तत्कालीन महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य तथा केही वकिलहरुले न्यायाधीशमा भाग नपाएको, अदालतमा सेटिङ गर्न नपाएका कारण आफ्नो विरोध गरेको आरोप लगाउनुभएको थियो ।राणाले पूर्वन्यायाधीश समाजका केही व्यक्तिलाई ‘मण्डले’को संज्ञा दिँदै उनीहरुले भाग नपाएका कारण रडाको मच्चाएको आरोप पनि लगाउनुभयो । उहाँले पूर्वन्यायाधीश समाजमा रहेका टोपबहादुर सिंह, पवनकुमार ओझा, शम्भु खड्कालगायतका व्यक्तिहरु घनघोर मण्डले रहेका कारण सो समाज वा फोरमले लगाएको आरोपलाई महत्व दिन नहुने भन्दै बताउनुभयो ।

सो फोरमले अहिले पनि न्यायालयमा आफनो अस्तित्व खोजेको र आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर गैरकानुनी माग राख्ने गरेको आरोप पनि राणाले लगाउनुभयो ।जवाफ दिने क्रममा आफ्नोविरुद्ध लाग्न कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई हालका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की तथा वरिष्ठ न्यायाधीशहरु मीरा खड्का (तत्कालीन न्यायाधीश), ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउतलगायतले उक्साएको आरोप पनि राणाको रहेको छ ।राउतलाई त मुद्दा छिनोफानो गर्न मुद्दाका पक्ष विपक्षसँग बार्गेनिङ गर्ने, अत्यधिक मदिरा सेवन गर्ने गरेको समेत आरोप लगाउनुभएको थियो । उनीहरुको कारण आफूमाथि महाभियोग लाग्ने अवस्था आएको पनि राणाको भनाइ रहेको छ ।

पूर्वन्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरु पूर्व भइसकेपछि पनि शक्तिकेन्द्र हुन खोज्दा समस्या उत्पन्न भएको आरोप लगाउँदै राणाले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलगायतले अहिले पनि भाग खोजेको र आफूहरुले भाग नदिँदा आफूमाथि जाइलागेको बयान दिनुभएको थियो ।पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुको चाहना भनेको राष्ट्रिय मानवअधिकार वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति हुने रुचि रहेको पनि उहाँले बताउनुभएको थियो ।

मानव अधिकारमा अध्यक्ष हुन कल्याण श्रेष्ठ र मीनबहादुरले यही रुचि पूरा गर्न आवश्यक चलखेल गर्ने पनि राणाको कथन रहेको छ । उनीहरुमा न्यायाधीश नियुक्ति, न्यायाधीशको सरुवा र मुद्दामा सरुवा रुचि हुने गरेको पनि राणाको भनाइ रहेको छ । राणाले सर्वोच्च अदालतमा पहिलेदेखि सात, आठ जना वरिष्ठ अधिवक्ताको गिरोह रहेको र त्यस गिरोहले सर्वोच्चमा सिन्डिकेट चलाएको आरोप पनि लगाउनुभयो ।

सर्वोच्च अदालतमा भूमिका निर्वाह गर्न नपाएको, न्यायाधीश नियुक्तिमा भूमिका नपाएको र मुद्दामा चलखेल गर्न नपाएपछि वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतले महाअभियोगको नेतृत्व नै गर्नुभएको आरोप राणाको रहेको छ । राणाले वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालको श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश नबनाइदिएकै कारण आफूमाथि रिस साँधेको आरोप पनि लगाउनुभएको थियो । आफूमाथि सम्पत्ति शुद्धीकरण रिट दर्ता गर्न जाने सुरेन्द्र केसीको पनि यस्तै रुचि रहेको पनि उहाँको आरोप थियो ।

सर्वोच्चका न्यायाधीश उपस्थित नहुने
सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरु महाअभियोग सिफारिस समितिमा उपस्थित नहुने भएका छन् । महाअभियो सिफारिस समितिसँगको बयानमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नाम मुछेका न्यायाधीशहरुलाई समितिले बोलाएपछि अदालतको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

‘छलफलका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार फुलकोर्ट वैठक बोलाउनुभएको थियो। महाभियोगसम्बन्धी कारबाही प्रक्रियाका सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल–जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अङ्गीकार गरेका मान्यताहरू समेतका कुनै पनि दृष्टिले संविधानसम्मत, उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकाले सोही बेहोराको जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाइदिने’ भनी फुलकोर्टको निर्णयमा भनिएको छ । राणाले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, प्रकाशकुमार राउतलगायतको नाम लिँदै समितिमा बयान दिनुभएको थियो ।