काभ्रेमा ९८ जना डेंगु संक्रमित

बनेपामा धेरै, खानीखोला र बेथान्चोक शून्य



काभ्रे । काभ्रेमा ९८ जनामा डेंगु संक्रमित पुष्टि भएको छ । आज (बुधबार) जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ९८ जनामा डेंगु संक्रमित पुष्टि भएको हो ।

उक्त कार्यालयका प्रमुख डा.पुरुषोतम सेढाईले बालबालिका देखि जेष्ठ नागरिकसम्म डेंगु संक्रमित भएको बताउनुभयो । सबैभन्दा धेरै डेंगुका सक्रमित विरामीहरु बनेपा नगरपालिकामा रहेका छन् । बनेपामा ३६ जना संक्रमित भएको मध्ये १३ महिला र २३ पुरुष छन् ।

धुलिखेल नगरपालिकामा २५ जना डेंगुका संक्रमित छन् । जसमध्ये १३ महिला र १२ पुरुष छन् । खानीखोला र बेथान्चोकमा हालसम्म संक्रमित नरहेको बताइएको छ । पनौतीमा ७ जना, पाँचखालमा ६ जना, मण्डन देउपुरमा ७ जना, नमोबुद्धमा ७ जना संक्रमित छन् ।

त्यस्तै रोशी गाउँपालिकामा ३ जना, तेमालमा २ जना, भुम्लुमा ३ जना, चौरीदेउरालीमा १ जना र महाभारत गाउँपालिकामा १ जना संक्रमित छन् । संक्रमितमध्ये ४४ महिला र ५४ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले जनचेतना फैलाउँदै डेंगुबाट बच्न विभिन्न कार्यक्रमहरु संचालन भईरहेको बताउनुभयो । स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायहरुले डेंगुको संक्रमण फैलन नदिन वा संक्रमित विरामीहरुको उपचारका लागि कार्य गरिरहेको भए पनि पछिल्ला केही दिन डेंगुको संक्रमण फैलिएकाले सचेत रहन अनुरोध गरिएको डा. सेढाईले बताउनुभयो ।

संक्रमितमध्ये ३ जना बालबालिका छन् । १० वर्ष भन्दा कम उमेर समुहका ३ जना, १० देखि २० वर्ष उमेर समुहका १३ जना, २१ देखि ३० उमेर समूहका २७ जना, ३१ देखि ४० वर्षसम्मका १५ जना, ४१ देखि ५० वर्षसम्मका १७ जना, ५१ देखि ६० वर्षसम्मका १४ जना र ६१ वर्षभन्दा माथि उमेर समूहका ९ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्