सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

0
Shares

काठमाडौं ।

काठमाडौं, मोरङ, पर्सा, नुवाकोट र रुपन्देहीमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभार नजिक बा.८ च ७१५० नम्बरको गाडीले बा.५९ प २११० नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–६ चोभार बस्ने ४४ वर्षीय हरिष महर्जन रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढिगंगा गाउँपालिका–३ शान्ति चोकमा प्र।१–०२–००२ च ४६९८ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका–१ बस्ने ७० वर्षीय पदम बहादुर श्रेष्ठ रहेका छन् । उनको मंगलबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–२५ अलौस्थित सडकमा प्र.२–०३–०१२प.५६०९ नम्बरको मोटरसाइकललाई बा।२ झ ४०१० नम्बरको एम्बुलेन्सले मंगलबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सखुवाप्रसौनी गाउँपालिका–४ बस्ने ७० वर्षीय फजिल देवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाटमा गल्छीतर्फ जाँदै गरेको बा.३ ख १६४ नम्बरको आईचर गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–७ महादेवफाट बस्ने ५० वर्षीय वीरेन्द्र कुवँर रहेका छन् । उनको मंगलबार राति मृत्यु भएको हो ।

सडक छेउमा बा.२० च ९४४२ नम्बरको कार रोकी चालक कुवँर बाहिर निस्किएको अवस्थामा गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट घाइते भएका कारमा सवार एक जनालाई उपचारको लागि बिएण्डबी अस्पताल ललितपुर लगिएको छ ।रूपन्देहीको सियारी गाउँपालिका–७ कनरीमा लु.६८ प ९८४६ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–३ बोरहवा बस्ने ४५ वर्षीय दिप सिंह थारु रहेका छन् । उनको मंगलबार साँझ मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ पठाइएको छ ।