डेंगु रोकथाममा प्रतिकार्य योजना बनाएर काम गरिरहेको छौं : राज्यमन्त्री केसी

0
Shares

काठमाडौं । 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

स्वास्थ्य राज्यमन्त्री केसीले बुधवार अनुरोध पत्र जारी गर्दै डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन अपिल गर्नुभएको हो । उहाँले रोगको पहिचान र उपचारमा कमी हुन नदिन स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा छ भन्नुभयो । स्वास्थ्य राज्यमन्त्री केसीले ‘डेंगु संक्रमण देखिएका जिल्लाहरूमा जनप्रतिनिधिहरूसँग छलफल गरेर पालिकाको स्वास्थ्य हेर्ने सबै व्यक्ति र स्वयम् सेविकालाई परिचालन गर्ने कार्य भइरहेको छ भन्नुभयो ।

जनप्रतिनिधि सँगसँगै स्थानीय सरोकारवाला, स्वास्थ्य स्वयंसेविका मिलेर डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने, समाज परिवार, व्यक्तिमा सचेतना फैलाउने काम भइरहेको छ ।’ डेंगुबाट बच्न आम नागरिकले पुरा बाहुला भएका कपडा लगाउनुहुन अनुरोध गर्दछु भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रायजसो दिनको समय, विशेषगरि बिहान र बेलुकाको समयमा सक्रिय रहने एडीस जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ । डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले प्रतिकार्य योजना बनाएर काम गरिरहेको छ । ’ डेंगु सार्ने लामखुट्टेको वासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको बताउनुभयो ।