काभ्रे ।
धुलिखेल अस्पताल, काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको आयोजनामा तेश्रो अन्तराष्ट्रिय नर्सिङ तथा प्रसूति स्याहारसम्बन्धी दुईदिने सम्मेलन धुलिखेल अस्पतालमा शुरू भएको छ । सम्मेलनको उद्घाटन बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्री निमा लामाले गर्नु भएको छ ।
नेपालमा नर्सहरूको व्यवसायिक विकासलाई प्रर्वद्धन गर्ने उद्देश्यले यसअघि पहिलो सम्मेलन २०१४ र दोश्रो सम्मेलन २०१८ मा सम्पन्न गरेको थियो । सम्मेलनको उद्घाटन गर्दै मन्त्री लामाले बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन शुरू गरेको भए पनि स्थानीय स्तरमा नागरिकले त्यसलाई ग्रहण गर्न अझै समय लाग्ने बताउनुभयो । समान्य भन्दा सामान्य सेवा स्वास्थ्य चौकीबाट उपलब्ध हुने गरी पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि तीन तहका सरकारले मिलेर कार्य गर्नु पर्ने मन्त्री लामाले बताउनुभयो ।
नर्सहरूको व्यवसायिक विकासलाई प्रर्वद्धन गर्ने उद्देश्यमा ज्ञान, सीप र विशेषज्ञता भएका विभिन्न विषयका विशेषज्ञहरूद्वारा साझा लक्ष्यका साथ बिरामी समुदायलाई राम्रो हेरचाह प्रदान गर्न जिम्मेवारी बाँडफाँड गर्ने परिकल्पना सम्मेलनले गर्ने धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज नर्सिङ विभागका कुन्तादेवी पुनले बताउनुभयो ।
क्यानाडा, इजरायल, भारत, जापानबाट समेत गरी २ सय ५० भन्दा धेरै नर्सको सहभागिता रहेको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रोफेसर डा.रामकण्ठ माकजुले धुलिखेल अस्पतालले बिरामी र बिरामीका कुरूवाका लागि गुणस्तरीय सेवा प्रदान गर्न अस्पतालले लिएको लक्ष्य नर्सहरूले पूरा गरेको बताउनुभयो ।
‘अझै मेहनत गर्न, नम्र व्यवहार गर्न, व्यवसायिक जिम्मेवारी पूरा गर्न जरूरी छ’–संस्थापक प्रमुख डा. रामकण्ठ माकजुले भन्नुभयो –‘प्रविधिको परिवर्तनसँगै आफुलाई पनि परिवर्तन गर्न र बिरामीको भावना अनुसार सेवा गर्न सधै तत्पर हुनुपर्छ ।’
काठमाडाैं विश्वविद्यालय स्कुल अफ साइन्सका डिन प्राडा राजेन्द्र कोंजुले बिरामीप्रति जिम्मेवार बन्ने कर्तव्यबाट विमुख नहुन अनुरोध गर्नुभयो । ‘बिरामी, चिकित्सक तथा अन्उ विद्याका व्यक्तिहरूसँग सञ्चार सम्वन्ध कम हुँदै गएको छ’–डिन डा. कोँजुले भन्नुभयो–‘संचार आदान प्रदान कम हुँदा प्राप्त गर्नु पर्ने गुणस्तरीय सेवामा कमी हुन थालेको छ ।’
सम्मेलनको उद्घाटन सत्रमा नेपाल नर्सिङ परिषद्का अध्यक्ष सरला केसीले नर्सिङ क्षेत्रमा सेवा मात्रै नभई शिक्षा पनि गुणस्तरीय हुनुपर्ने बताउनुभयो । ‘प्रविधिको परिवर्तनसँगै नर्सहरूले स्वभाव बदल्नु पर्छ’– अध्यक्ष केसीले भन्नुभयो–‘प्रविधिलाई आत्मसाथ गर्दै आफूलाई परिवर्तन गराउनु अनिवार्य छ ।’
सम्मेलनको उद्घाटन सत्रमा न्याम्सकी रजिस्ट्रार प्रमिला देवान, मन्त्रालयका सचिव डा. रोशन पोखरेल, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, क्यानाडास्थित थोम्पसन रिभर विश्वविद्यालयकी डिन डा. रानी एच श्रीवास्ताव, धुलिखेल अस्पतालका सर्भिस इन्चार्ज डा. राम गुरुङ, क्लिनिकल नर्सिङ इन्चार्ज सुबासना श्रेष्ठ लगायतले धुलिखेल अस्पतालका साथै देश र विदेशमा नर्सहरूले बिरामी र बिरामीका आफन्तहरूलाई पु-याएको सेवाका सन्दर्भमा भएका अनुभवहरू आदान प्रदान गर्नुभएको थियो ।
सम्मेलनको बन्द सत्रमा विभिन्न क्षेत्रका विशेषज्ञहरूले बहुवर्षीय दृष्टिकोण, मातृ तथा बाल स्वास्थ्य, मानसिक स्वास्थ्य, सिमुलेसन आदी विषयमा अनुसन्धानमूलक अध्ययनहरू कार्यपत्रका रूपमा प्रस्तुत गर्नेछन् । सम्मेलन बुधबार समापन हुनेछ ।











प्रतिक्रिया