नेपालको संघीय संसद र चीनको राष्ट्रिय जन कांग्रेसबीच छ बुँदे समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । नेपालको संघीय संसद र चीनको राष्ट्रिय जन कांग्रेसबीच छ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार नेपालको ४ दिने भ्रमणमा आएका चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु र प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सभामुख सापकोटाको निमन्त्रणामा ६७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएका ली नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधिमण्डल र सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डलबीच संसदीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा भएको द्विपक्षिय भेटवार्ताका क्रममा उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो । उक्त भेटवार्तामा संसदमा रहेका दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीन मैत्री संसदीय समूहको टोलीको पनि उपस्थिति रहेको थियो ।

द्विपक्षिय भेटवार्तामा सहभागी नेपाल–चीन संसदीय मैत्री समूहको संयोजक सुभाषचन्द्र नेम्वाङले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारी अनुसार दुई देशबीच संसदीयस्तरमा सम्बन्धलाई विस्तार र प्रगाढ बनाउने सम्बन्धमा भएको सहमतिलाई समझदारीपत्रको रुप दिइएको हो । ३ पृष्ठको उक्त समझदारीपत्रमा संसदीयस्तरमा सम्बन्ध अभिबृद्धिका साथै संसदीय अनुभव आदानप्रदान र दुई देशका संसदीय मैत्री समूह बीचमा भ्रमण आदानप्रदान गर्ने विषयमा जोड दिइएको छ । समझदारीपत्रको दोस्रो बुँदामा दुबै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षिय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पु¥याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्ने उल्लेख छ । त्यसैगरी तेस्रो बुँदामा दुबै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दुई व्यवस्थापिका बीच उच्च स्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिने उल्लेख छ भने चौंथो बुँदामा दुबै पक्षले संसदीय मैत्री समूहहरूलाई उनीहरूको संलग्नता अभिबृद्धि गर्न प्रोत्साहन गर्ने र साथ दिने तथा दुई व्यवस्थापिकाबीच सद्भाव र समझदारी प्रवर्द्धन गर्न सक्रिय भूमिका निवार्ह गर्न प्रोत्साहन गर्ने उल्लेख छ ।

समझदारीपत्रको पाँचौं बुँदामा दुबै पक्षले एकअर्काको विधायिकी, सुपरिवेक्षकीय र शासन संचालनसम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसियटिभमार्फत समेत दुई राष्ट्रबीच अन्तरआबद्धता अभिबृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने उल्लेख छ । त्यसैगरी छैठौं बुँदामा दुबै पक्ष साझा हितको विषयमा ईन्टर पार्लियामेन्टरी यूनियनलगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरूको खाकाअन्तर्गत सहयोग सुदृढ गर्न सहमत भएको उल्लेख छ ।

समझदारीपत्रको पहिलो बुँदामा भने दुबै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रुपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएको उल्लेख छ ।

चिनियाँ राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष लीको सम्मानमा सभामुख सापकोटाले सोमबार नै राजधानीको सोल्टी होटलमा रात्रीभोजको आयोजना गर्नुभएको थियो । उक्त रात्रीभोजमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डका साथै एमालेका नेता सुभासचन्द्र नेम्बाङलगायतको उपस्थिति रहेको थियो । तर राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना भने सरकारले बेलायती महारानी एलिजावेथ द्वितीयाको निधनमा तीनदिने राष्ट्रिय शोक घोषणा गरेकोले शोकको समयमा औपचारिक भोजमा सामेल हुनु उचित नभएको भन्दै रात्रीभोजमा सहभागी हुनुभएन ।

लीले मंगलबार प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, परराष्ट्रमन्त्री डा. नारायण खड्का, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्