मुगुमा पहिलो पटक शल्यक्रिया सफल



मुगु । जिल्ला अस्पताल–मुगुमा पहिलो पटक पाठेघरको सफल शल्यक्रिया भएको छ । सोरु गाउँपालिका–६ की ७० वर्षीया मोती रोकायाको पाठेघरको सफल शल्यक्रिय भएको हो ।

जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमका अनुसार विशेषज्ञ चिकित्सक सुरेन्द्र शाक्य, चिकित्सक अर्जुन भाम, नर्स सूनिता वली र अनमी रामदेवी केसीलगायतको टोलीले रोकायाले पाठेघरको सफल शल्यक्रिया गरेका हुन् ।

यो सँगै जिल्ला अस्पतालमै पहिलो पटक पाठेघरको सफल शल्यक्रिया सम्भव भएको छ । रोकायाका आफन्तहरुले गरिबीका कारण सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन नसकेको भन्दै ‘गाउँघरमा सामान्य औषधोपचार गर्दा पाठेघरमा केही समस्या थियो ।

जिल्ला अस्पतालमै सहज रुपमा सफल उपचार हुँदा ठूलो आर्थिक खर्च हुनबाट बचेका छौं । विरामीको सफल शल्यक्रिया गर्न सफल चिकित्सक तथा स्वास्थ्यकर्मीकहरुलाई भगवान मानेका छौं ।’

लामो समयसम्म विशेषज्ञविहीन मुगु जिल्ला अस्पतालमा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले केही दिनअघि मात्रै विशेषज्ञ चिकित्सक सुरेन्द्र शाक्यलाई पठाएपछि क्रमिक रुपमा सुधार हुँदै गएको छ । अहिले सामान्यदेखि जटिल शल्यक्रियासमेत अस्पतालमै हुन थालेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्क्षय गजेन्द्र मल्लका अनुसार विगतमा विशेषज्ञ चिकित्सकहरुको अभावमा सामान्य विरामीदेखि जटिल रोगका विरामीहरु थप उपचारका लागि लाखौं खर्च गरेर जुम्ला, नेपालगञ्ज, काठमाडौंलगायतका बाहिरी जिल्ला जानुपर्ने बाध्यता थियो ।

पछिल्लो समय अस्पतालको अवस्था सुधार हुँदै गएपछि विरामीहरुबो चाप पनि विस्तारै बढिरहेका छन् । नागरिक समाजका अध्क्षय रुप बहादुर मल्लले जिल्ला अस्पतालमै सहुलियत दरमा विरामीको सफल शल्यक्रिया सेवा प्रारम्भ भएसँगै मुगालीहरुलाई ठूलो राहत पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्