कर्मचारी भर्नाको अन्तर्वार्ता लिइरहेका विषयविज्ञ नै बेहोस भएपछि…



धनगढी ।

कैलालीको एक पालिकामा कर्मचारी भर्नाका लागि अन्तर्वार्ता लिने क्रममा विषयविज्ञ नै बेहोस भएर ढलेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिकामा अमिन पदमा कर्मचारी भर्नाका लागि अन्तर्वार्ता लिने क्रममा (विषयविज्ञ) कर्मचारी बेहोस भएका हुन् ।

बर्दगोरिया गाउँपालिकाका सूचना अधिकारी झुपीराज ओझाका अनुसार आज (सोमबार) नापी कार्यालय कैलाली, धनगढीका कर्मचारीसमेत रहनुभएका विषयविज्ञ रणसिंह रावल अन्तर्वार्ता लिँदालिदै बेहोस हुनुभएको हो । उहाँ सर्ट लिस्टमा परेका आवेदकहरुलाई अन्तर्वार्ता लिने क्रममा बान्ता भएर बेहोस भई ढलेको बताइएको छ ।

‘कर्मचारी भर्ना गर्न अन्तर्वार्ता लिइरहनुभएको थियो। उहाँलाई एक्कासी चक्कर आयो, अनि बान्ता भएपछि बेहोस हुनुभयो।’ सूचना अधिकारी ओझाले भन्नुभयो । अन्तर्वार्ताकै क्रममा उहाँ बिरामी भएको हुन् । अहिले उहाँको बर्दगोरिया अस्पतालमा उपचार भैरहेको बताइएको छ । रावलको अवस्था अहिले सामान्य छ ।

अमिन पदका लागि भइरहेको अन्तर्वार्तामा २२ जना आवेदक सहभागी थिए । जसमध्ये ९ जनाको अन्तर्वार्ता सकेर १०औं जनाको अन्तर्वार्ता लिइरहेका बेला रावल ढलेका थिए । रावल अस्वस्थ भएपछि अहिले अन्तर्वार्ता भने रोकिएको छ । गाउँपालिकाले ४ जना अमिन भर्ना गर्न लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्