डा.गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने

0
Shares

धनगढी ।

चिकित्सा शिक्षा अभियन्ता प्रा. डा. गोविन्द केसी आज कैलालीको धनगढी आइपुग्नु भएको छ । केसी आज (सोमबार) साँझ ५ बजेदेखि २०औँ सत्याग्रह बस्न धनगढी पुग्नुभएको हो ।

डा केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) अल्टिमेटम दिनुभएको छ । ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो । तर, सरकारको पक्षबाट कुनै रेस्पोन्स नआएकाले म सत्याग्रहका लागि धनगढी आए।’ डा. केसीले भन्नुभयो, ‘देउवाले समय मागेर आजसम्म झुलाए तर अहिले रेस्पोन्स गरेनन्, त्यसैले धनगढीमा सत्याग्रहमा बस्छु।’

उहाँले सुरक्षाको कारण स्थान भने तय नभएको बताउनुभएको छ। डा केसीले आफूले राखेका माग र समाधानको खाका समेत सरकारलाई बुझाइसक्नु भएको छ।

यस्ता छन् मागहरु

स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्।

जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरियोस्।

संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्।

सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस्।

स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्।

देशभर दिगो स्वास्थ्य सेवा पुर्‍याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस्।