नमोबुद्धले ग-यो शपथ पछि एक सय दिनको समीक्षा

0
Shares

काभ्रे । 

नमोबुद्ध नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएको एक सय दिन पुरा हुँदा जनताका पक्षमा भए गरेका निर्णय तथा योजना सहित भएका क्रियाकलापका सन्दर्भमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । नगर प्रमुख कुन्साङ लामाले यस अघि निर्वाचित जनप्रतिनिधिहरूले सुरु गरेका कतिपय कामको निरन्तरताका साथै नयाँ योजनाहरू सुरु गरिएको बताउनु भयो ।

नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरी सुशासनयुक्त नगरको परिकल्पना सहित कृषि, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, जेष्ठ नागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशीलताका साथै भौतिक पूर्वाधार विकासका कार्यहरू सुरु गरिएको नगर प्रमुख कुन्साङ लामाले बताउनु भयो ।

‘महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गराएमा त्यस्ता उद्योग वा फर्म नगरपालिकामा दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण छुट दिन सुरु गरिएको छ’–नगर प्रमुख कुन्साङ लामाले भन्नुभयो–‘यो अवधिमा १३ वटा उद्योग वा फर्महरूले यस्तो सुविधा प्राप्त गरी दर्ता भएका छन् ।’ त्यस्ता उद्योगहरूको स्थिर पुँजी पाँच लाखसम्म भएका लघु उद्यमहरू छन् ।

जेष्ठ नागरिक, पूर्ण अशक्त र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको, महिनाको एक पटक दक्ष र विज्ञ स्वास्थ्यकर्मीबाट घुम्ती स्वास्थ्य परीक्षण शिविर सञ्चालन सुरु गरिएको, निम्न आय स्तर भएका र अति विपन्न वर्गहरूको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको नगर प्रमुख कुन्साङ लामाले बताउनु भयो ।

पूर्ण अशक्त वर्ग, बैंकिङ सेवासम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूलाई भत्ता वितरण गर्ने वित्तीय संस्थाहरूसँग समन्वय र सहकार्य गरी सामाजिक सुरक्षा भत्ता वितरणको लागि स्थानीय स्तर वडा स्तरमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउने कार्यको सुरुवात भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताउनु भयो ।

वर्षातको कारणले यातायात सेवामा अवरुद्ध भएका नगरस्तरीय विभिन्न बाटोरसडकहरु नगरपालिकासँग रहेको मेशिनरी औजार मार्फत पहिरो तथा अवरोध हटाई एवं मर्मत गरी यातायात सहज बनाइएको, वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप नमो बुद्ध नगरपालिकाका विभिन्न धार्मिक, सार्वजनिक स्थानहरूमा १० वटा सडक सौर्य बत्ती जडान गरिएको उपप्रमुख रत्न लामाले बताउनु भयो ।

एक वडा एक पोखरी कार्यक्रमलाई निरन्तरता दिइएको र निर्वाचित भए पश्चात् ४ वटा मूल संरक्षणको कार्य सुरुवात गरिएको उपप्रमुख लामाले बताउनु भयो । वर्षा, बाढी, वन्यजन्तु तथा विपद्का कारण क्षति भएको बाली तथा पशुधनका लागि किसानहरूलाई राहत रकम वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताउनु भयो । न्यायिक समिति गठन भएसँगै आएका उजुरीहरू नियमित छलफल गरी अन्तिम किनारा लगाइएको उपप्रमुख रत्न लामाले बताउनु भयो ।

यो अवधिमा न्यायिक समितिको १७ वटा बैठकहरू सम्पन्न भएका छन् । सीप विकास सम्बन्धी तालिम उपलब्ध गराइएको छ भने योजना तथा कार्यक्रमहरूलाई समयमा नै कार्यान्वयन गर्ने उद्देश्य अनुरूप योजना कार्यतालिका स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । पत्रकार महासङ्घका उपाध्यक्ष विनोद न्यौपाने असल कार्यका लागि सञ्चारमाध्यमको सकारात्मक सुझाव र सहयोग रहने बताउनु भयो ।