कोटेश्वरमा फेरि डोजर चल्यो

माछापोखरी र कमलादी पनि निशानामा


काठमाडौं  ।

काठमाडौं महानगरपालिकाले तीनकुने–कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन शुरू गरेको छ । सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटकपटक माइकिङ गर्दै आएको थियो ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपाल समाचारपत्रसँगको कुराकानीमा पटकपटक आग्रह गर्दा अटेर गरेपछि हटाउन शुरू गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अनधिकृत संरचनासँगै बाटो छेउमा राखेको भ-याङ निर्माण सामग्रीसमेत हटाउनेछौं ।’

कामपाले आज सोमबार माछापोखरी, कमलादीलगायतका क्षेत्रको संरचनामा डोजर चलाउने तयारी गरेको छ । ‘कमलादीमा भूमिगत पार्किङ नभएको सूचना पाएका छौं, त्यसलाई तत्काल हटाउनेछाैं’ –प्रहरी प्रमुख पाण्डेले भन्नुभयो । उहाँले माछापोखरी क्षेत्रमा पनि अनधिकृत रूपमा निर्माण भएको संरचना हटाउन आज फेरि डोजर चलाउन लागिएको जानकारी दिनुभयो । यसअघि कामपाले कोटेश्वरको सुन्दरबजारसहितको क्षेत्रमा डोजर चलाएको थियो ।

यसैबीच अनधिकृत रूपमा सञ्चालन भइरहेको लगनखेलको मञ्जुश्री पेट्रोल पम्पलाई ललितपुर महानगरपालिकाले सिल गरेको छ । मेयर चिरिबाबु महर्जन र महानगर प्रहरी प्रमुख सीताराम हाछेथुसहितको टोलीले पेट्रोल पम्ममा सिल गरेको हो ।