सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन



काठमाडौं ।

प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आइतबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त निर्देशन दिनुभएको हो ।नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्ति भनिएको छ– ‘नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकलदर्जालाई निर्देशन दिनुभएको थियो ।’

सम्बोधनकै क्रममा प्रधानसेनापति शर्माले हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्नुभएको थियो । उहाँले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढीकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यावसायीकरण सम्भव हुने बताउनुभयो ।

‘प्रधानसेनापति शर्माले नेपाली सेना सबै नेपाली जनताको आशा, भरोसा र एकताको केन्द्रबिन्दु भएको उल्लेख गर्दै राज्यमा उत्पन्न संकट तथा विपद् व्यवस्थापनदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ तैनाथ फौजले प्रदर्शन गरेको निःस्वार्थ सेवाभाव र पेसागत व्यावसायिकताको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको समेत उल्लेख गर्नुभएको थियो’ – विज्ञप्तिमा भनिएको छ ।

नेपाली सेनाको मूल्य–मान्यताको संवर्धन र प्रवर्धन गर्दै सकलदर्जाले फलामे अनुशासन, पारदर्शिता र सैनिक चरित्र कायम राख्दै आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने विषयमा सम्बोधनका क्रममा उनले जोड दिनुभएको थियो ।निकट भविष्यमा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानीलगायत विस्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको बाहिरी सुरक्षाजस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्न समेत उहाँले सेनालाई निर्देशन दिनु भएको थियो ।राष्ट्रिय गौरवको काठमाडौं–तराई-मधेश द्रुतमार्ग सडक आयोजना समय सिमाभित्रै निर्माण सम्पन्न गर्न पनि प्रधानसेनापति शर्माले निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्