भगबण्डाको किचलोले फुकेन गाँठो

गठबन्धन फुटाउने रणनीतिमा एमाले

0
Shares

२०७४ को समानुपातिक भोट र २०७९ मा आएको वडा अध्यक्षको भोटलाई आधार मानेर गठबन्धनका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं । चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आज (आइतबार) बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन नसकेपछि चुनावी अभियान नै प्रभावित बनेको छ । गठबन्धनभित्र देखिएको भागबण्डाको किचलोले संभावित उमेद्वारहरुले के भनेर मदतादासँग जाने भन्ने बाटो पाएका छैनन् ।

बैठकले सिट बाँडफँट नटुंगिएपछि भोलि (सोमबार) पुनः बैठक बस्ने गरी सकिएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो । छलफल गरेर निष्कर्षमा पुग्ने भनिए पनि आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्रै पेश गरिएको खनालले बताउनुभयो ।

बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको उहाँको भनाइ छ । ‘कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा रिपोर्टिङ भयो’, खनालले भन्नुभयो, ‘सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने र सिट बाँडफाँटको टुंगो लगाइने छ ।’

तर, लामो समयदेखि सिट बाँडफाँटको मापदण्डमै शीर्ष दलका नेताहरु अल्झिएका कारण अहिले नै मिल्ने कुरा शंकाको घेरामा छ । छलफलको सुरुवातीमै नेपाली कांग्रेसले एक सय नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । उक्त बटमलाइनबाट कोही पनि पछि हटेका छैनन् । गठबन्धन दलहरुबीच २०७४ मा जुन दलले जितेको त्यसैलाई छाड्ने र एमालेले जितेका क्षेत्रमा भागबण्डा गर्ने गरी कांग्रेस बाहेकका दलहरुको धारण छ ।

तर, अघिल्लो निर्वाचनमा एमाले–माओवादी केन्द्रको चुनावी तालमेल भएको र माधाव नेपाल समूहसमेत एमालेमै भएकाले धेरै ठाउँहरु जिते पनि यसपटक माओवादी–नेकपा एकीकृत समाजवादीको सांगठनिक अवस्था राम्रो नभएकाले जित निकाल्न मुस्कील पर्ने नेताहरुले बताएका छन् । यसरी भागबण्डा गर्दा गठबन्धनको परिणाम कमजोर हुने कुरालाई ख्याल गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताउनुभयो ।

गठबन्धनलाई परिणाममुखी बनाउने हो भने दलहरुले आफ्नो संगठनको अवस्था हेरेर सिट बाँडफाँटमा सहमति गर्नुपर्ने उहाँको भनाइ छ । २०७४ को समानुपातिक भोट र २०७९ मा आएको वडा अध्यक्षको भोटलाई आधार मानेर गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भैरहेको खतिवडाले जानकारी दिनुभयो । ‘सम्भवतः यही मापदण्डका आधारमा सिट बाँडफाँट हुन्छ, एक दुइ दिनमै टुंग्याउने कसरत भैरहेको छ’, उहाँले भन्नुभयो ।

सय सिटको वटमलाईन छाड्नु हुन्न : शेखर कोइराला

गठबन्धन दलबीच सिट बाँडफाँटको किचलोमा रुमल्लीइरहेको अवस्थामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सिट बाँडफाँट गर्दा कांग्रेसले सय सिट लिनुपर्ने वटम लाइन दोहो¥याउनु भएको छ । गठबन्धन भित्रका अरु दलहरुले कांग्रेसलाई ७०/८० सिटमा मनाउने कुरा गरिरहेको भन्दै यसमा कांग्रेसले संझौता गर्न नहुने धारणा राख्नुभएको हो ।

७०/८० सिट लिएर कांग्रेसको बहुमत नआउने भन्दै आगामी सरकार बनाउँन कांग्रेसलाई बहुमत आवश्यक हुने हुँदा सय सिट लिएर बाँकी सिटमा गठबन्धनका साथीहरु मिलाउँनु पर्ने बताउनुभयो । ‘७०/८० सिट लिएर नेपाली कांग्रेसको बहुमत त हुँदैन । त्यसैले मैले भनिरहेको छु, सय सिट नेपाली कांग्रेसले लिनुपर्छ, अनि मात्रै गठबन्धनसहित बहुमतको सरकार बनाउन सक्छौँ’, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस गठबन्धनमा जाने र कांग्रेसको बहुमतको सरकार बनाउँने भनेर केन्द्रीय समितिले गरेको गरिएकोे निर्णयको स्मरण गराउनुभयो । कोइरालाले भन्नुभयो, ‘केन्द्रीस समितिले गरेको निर्णय त सबैले पालना गर्नु पर्यो नी ! ‘हामी गठबन्धनमा जाने र कांग्रेसको बहुमतको सरकार बनाउँने भन्ने निर्णय छ । ’

उम्मेदवार सिफारिसकै लागि कतिपय जिल्लामा कांग्रेस कार्यकर्ताबीच नै मारपिट भइरहेको स्मरण गराउँदै उहाँले टिकट नै क्षेत्रले बाँडिरहेको छ जस्तो गरी साथीहरु लागेको बताउनुभयो । गठबन्धन हुँदा त्यो क्षेत्र अर्को पार्टीले लिन्छ कि भन्ने थाहा हुँदाहुँदै पनि साथीहरुको मरिहत्ते गरेर लागेको कोइरालाको भनाइ छ ।

कतिपय क्षेत्रमा आफ्नैबीच मारपिट गर्ने र गठबन्धनले चुनाव जिताउँछ भन्ने भ्रममा नेताहरु लागेको भन्दै कोइरालाले त्यस्तो भ्रममा नपर्न आग्रहसमेत गर्नुभयो । पार्टी भित्रको आन्तरिक समस्या समाधानमा नेतृत्व लाग्नुपर्ने उहाँको भनाइ छ ।

गठबन्धन फुटाउने रणनीतिमा एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) यतिखेर सत्ता गठबन्धनलाई कसरी फुटाउने भन्ने नितिमा लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले वामगठबन्धनका लागि अझै ढोका खुला राखेको संकेत दिनुभएको छ । यसले गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) लगायत वामपन्थी दलहरुको सिट बार्गेनिङ बढाउन सहयोग पुगेको छ ।

मंसिर ४ को निर्वाचनको तयारीसँगै रणनीति तय गर्ने क्रममा ओलीले अहिलेको गठबन्धन निर्वाचनको केही साताअघिसम्म भत्किन सक्ने सम्भावनालाई कायम राख्दै वाम गठबन्धनको ढोका खुलै राखेर अघि बढ्ने चुनावी रणनीति बनाउनुभएको हो । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका केही नेताहरुले त्यसलाई अवरोध गरिरहेका छन् ।

एमालेमा पनि दोस्रो तहका नेताहरु सिट खोसीने डरले गठबन्धन नभइदिए हुने पक्षमा रहेको स्रोतको दाबी छ । तत्काल एमालेको नेतृत्वमा अर्को गठबन्धन बनाउने निर्णय गरिनसकेको तर सम्भावित विकल्पलाई खुला राख्ने भन्दै ओली पाँच दलीय सत्ता गठबन्धनप्रति आक्रामक बन्नुभएको छ ।

ओलीले पार्टीको आन्तरिक रणनीतिमा भन्नुभएको छ ‘सत्तारूढ गठबन्धन तोड्नुपर्छ, अर्को गठबन्धन गर्नुपर्छ भनेर गीत गाउने विषय होइन, झ्याली पिटाउने पनि होइन ।’ सिद्धान्तविहीन, पहिचानविहीन र नीतिविहीन गठबन्धनले उद्देश्य हासिल गर्न नसक्ने ओलीको तर्क छ । उहाँले कार्यकर्तालाई भन्नुभएको छ, ‘एमालेको नेतृत्वमा अर्को गठबन्धन बन्न पनि सक्छ, एक्लै लड्नुपर्ने पनि हुन सक्छ ।

तर, कांग्रेस र माओवादी केन्द्र जहाँ मिल्दैनन् त्यहाँ एक अर्कालाई सहयोग गर्ने वातावरण तय हुन्छ ।’ सिट बाँडफाँटसँगै प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उप सभामुखसहितको बाँडफाँट अभिन्न रूपले जोडिएकाले अहिलेको सत्तागठबन्धन कुनै पनि बेला भत्किन वा तोडिन सक्ने एमालेको आँकलन छ  ।

सत्तारूढभित्र पनि विशेषतः कांग्रेस र माओवादी केन्द्रले बढी सिटका लागि दाउपेच गर्दा एकीकृत समाजवादी, जसपासहितका दल उपेक्षामा पर्न सक्ने भएकाले वैकल्पिक गठबन्धन वा तालमेलका लागि एमालेले पनि आन्तरिक रूपमा प्रयत्न गर्नुपर्ने मत बलियो बन्दै गएको एमालेका एक नेताले बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त कांग्रेसलाई सिट संख्यामा गलाउन एमालेसँग मिल्ने सक्ने भन्दै धम्की दिइसक्नु भएको छ । उता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि सम्मनजनक सिट नभएर गठबन्धन हुन नसक्ने अभिव्यक्तिहरु दिइरहनु भएको छ । एमालेले यीनै अभिव्यक्तिहरुलाई मलजल गर्दै गठबन्धन फुटाउने रणनीतिमा लागेपनि सत्ता गठबन्धनमा समस्या नआउने नेपाली कांग्रेस केन्द्रीय नेताहरुले बताएका बताए ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु पनि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्टलगायत नेतासँग नेताहरुसँग आनौपचारिक संवाद भने गरिरहेको छन् ।

पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटमा सकस परिरहेका बेला महन्थ ठाकुर नेतृत्वको लोसपा, डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानसहित थप तीन पार्टी समेत अडिन सक्ने अवस्था नरहेको एमालेको बुझाइ छ ।

सत्तामा पुग्न अनेकन दाउ रचेका ओलीले शनिबार मात्रै बालुवाटार पुगेर सबै पार्टी एक्लाएक्लै लड्नका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका गर्नुभएको छ । देउवासँग गठबन्धन फुटे पनि माओवादीलाई नबोक्ने सर्त राखेर गठबन्धनको फुटपछि चुनावी परिणाम राम्रो ल्याउने चाहाना ओलीको छ ।