पार्टीलाई फाइदा हुने हिसाबले गठबन्धन हुन्छ : ईश्वर पोखरेल

0
Shares

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई फाइदा हुने हिसाबले गठबन्धन गर्ने बताउनुभएको छ । शनिबार एमालेको मोरङ–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले चुनावमा जिताउने हिसाबले कुन शक्तिसँग कुन ठाउँमा तालमेल गराउँदा उचित हुन्छ त्यहीअनुसार गठबन्धन गर्ने बताउनुभएको हो ।

एमालेको नेतृत्वमा अर्को गठबन्धन हुन्छ कि हुँदैन भनेर सोध्ने गरेको भन्दै उहाँले भन्नुभयो– ‘स्थानीय आवश्यकताअनुसार जुनसुकै सम्भव भएको शक्तिसित पनि तालमेल हुन सक्छ, यस हिसाबले हामी जान्छौँ । कहीँ कुन पार्टी होला, कहीँ कुन पार्टी होला, तालमेल हुन सक्छ ।’

राजनीति परिप्रेक्ष्यसहित, तथ्यसहित, विवरणसहित, हाम्रा योजनाका आधारमा एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत ल्याउने उहाँको भनाइ छ । तपाईंहरूलाई उत्साहित बनाउन मात्रै नभनेको भन्दै तथ्यको आधारमा बोलेको पोखरेलले ठोकुवा गर्नुभयो ।

सत्ता गठबन्धनसँग कुनै कुनै सिद्धान्त, विचार, दृष्टिकोण, कार्यक्रम र गन्तव्य नभएको भन्दै यसलाई एमाले विरोधी ‘अपराधीहरू’को षड्यन्त्रपूर्ण डफ्फा भएको समेत आरोप लगाउनुभयो । ‘एमालेको विरोधमा केन्द्रित भएर निर्माण भएको गठबन्धन दृष्टिकोण, सिद्धान्त, कार्यक्रम र गन्तव्य समेत के हो भन्ने थाहा नभएको पोखरेलले बताउनुभयो । एमालेलाई सिध्याउने मुख्य उद्देश्यले गठबन्धन बनेको उहाँको आरोप छ ।’