सात युवा कृषकलाई इजरायलले दियो नगद पुरस्कार

0
Shares

काठमाडौं ।

नेपालस्थित इजरायली राजदूतावासले बिहीबार सात प्रदेशका उत्कृष्ट सात युवा कृषकलाई नगद तथा प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरेको छ ।

सिक र कमाऊ (लर्न एन्ड अर्न) कार्यक्रममार्फत् इजरायल गई कृषि अध्ययन गरी नेपाल फर्केर विभिन्न कृषि तथा पशुपालन व्यवसाय गरिरहेका सात युवालाई राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिएको हो ।साना किसान लघुवित्त वित्तीय संस्था र इजरायली राजदूतावासले लर्न एन्ड अर्न कार्यक्रमको १०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सात प्रदेशबाट छानिएका उत्कृष्ट २१ युवा किसानबाट उत्कृष्ट सातलाई जनही नगद एक लाख पुरस्कारसहित सम्मान गरिएको हो ।

इजरायलको विभिन्न कृषि कलेजमा तालिम लिएर फर्केका तीन हजार एक सय ६१ नेपाली युवालाई प्रतियोगितामा सहभागी हुन आह्वान गरिएको, र त्यसमध्ये एक सयभन्दा बढी युवाको आवेदन प्राप्त भएको राजदूतावासले जनाएको छ । सात प्रदेशबाट पहिलो चरणमा तीन–तीन युवा कृषक छनोट गरिएकोमा अन्ततः २१ मध्येबाट सात जनालाई उत्कृष्ट चयन गरी एक–एक जनालाई एक–एक लाख नगद पुरस्कार प्रदान गरिएको हो ।

उत्कृष्ट युवा कृषि पुरस्कार २०७९ मा प्रदेश १ बाट झापामा केराखेती गरिरहेका चन्द्र बस्नेत, मधेस प्रदेशबाट बारामा तरकारी खेती गरिरहेका सन्तोषकुमार यादव, वागमती प्रदेशबाट धादिङमा व्यावसायिक तरकारी खेती गरिरहेका युद्धप्रसाद न्यौपाने, गण्डकी प्रदेशबाट तनहुँमा बाख्रा पालन गरिरहेका शिवकुमार आले, लुम्बिनी प्रदेशबाट रूपन्देहीमा माछापालन गरिरहेकी सिर्जना थारू, कर्णाली प्रदेशबाट सुर्खेतको लाटीकोइलीमा गाईपालन गरिरहेका दीपेन्द्र कार्की र सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुरका विमल भण्डारी पुरस्कृत भएका छन् ।

कार्यक्रममा कृषि तथा पशुपन्छि मन्त्री मृगेन्द्रकुमार सिंहले कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै इजरायल सरकार र नेपालस्थित राजदूतावासले नेपालका साना किसान परिवारका सदस्यहरूलाई कृषि तथा पशुपालन क्षेत्रको व्यावसायिकीरणका लागि गरेको सहयोग महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।मन्त्री सिंहले नेपालका साना किसानलाई इजरायलका विभिन्न कलेजमा पढ्दै कृषिको अभ्यास गर्ने अवसर प्रदान गर्ने इजरायल सरकार र नेपालस्थित इजरायली राजदूतावासलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

मन्त्री सिंहले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन अनुरोध गर्दै यसका लागि नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग प्राप्त हुने प्रतिबद्धता पनि जनाउनुभयो ।यसै गरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेमबहादुर पाठकले नेपालको कृषि तथा पशुपालन क्षेत्रको रूपान्तरणका लागि इजरायली राजदूतावास र इजरायल सरकारलाई धन्यवाद दिनुभएको थियो ।

इजरायली राजदूत खनान गोदरले साना किसान विकास लघुवित्त वित्तीय संस्थासँग सहकार्य गरी नेपालको गाउँ तहका साना किसानहरूलाई कृषि र पशुपालनलाई व्यावसायिक बनाउने कार्यमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
राजदूत गोदरले विगत केही वर्षदेखि नेपालका साना किसानहरूलाई गरेको सहयोगलाई निरन्तरता दिने पक्षमा रहको पनि बताउनुभयो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले कृषि र पशुपालनको क्षेत्रलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । कृषि र पशुपालनको विकास गर्न सके मात्र किसानको वृद्धि विकास सम्भव हुने उहाँको धारणा थियो ।सचिव शर्माले संघ, प्रदेश र स्थानीय सरकारले कृषि र पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिएर कार्यक्रम बनाएको भन्दै यसबाट वास्तविक लाभग्राहीले लाभ लिनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
दूतावासका डीसीएम दाना फिसरले नेपालको कृषि र पशुपालन क्षेत्रमा युवा सहभागिता बढाउन कार्यक्रममार्फत आफूहरू पनि सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा सातै प्रदेशबाट छनौटमा परेका २१ जना प्रतिस्प्रर्धीको उत्पादनको स्टल प्रदर्शनीका लागि राखिएको थियो ।प्रतिस्पर्धीको व्यवसाय, आम्दानी, व्यवसायमार्फत अन्य युवाहरूमा परेको प्रभाव, प्रयोग भएको प्रविधिलगायतका विषयलाई आधार मानेर विजेता घोषणा गरिएको थियो । उत्कृष्ट छनौट समितिमा इजरायली राजदूत खनान गोदर, डा. विष्णु चापागार्इं र घुरन ठाकुर सदस्य हुनुहुन्थ्यो ।