राष्ट्रपति भण्डारीद्वारा बेलायतकी महारानीको निधनप्रति दु :ख व्यक्त


काठमाडौं । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्दै शनिबार काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ । बेलायती दूतावासमा राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटसँग कुरा गर्दै महारानी एलिजाबेथ द्वितीयाको निधनबाट नेपालले एक असल मित्र गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको राष्ट्रपति कार्यलयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले शनिबारै बेलायतका नयाँ महाराज चाल्र्स तृतीयलाई शोक सन्देश पठाउँदै महारानी एलिजाबेथ द्वितीयाको निधनबाट बेलायत मात्रै नभई विश्व नै शोकसन्तप्त भएको उल्लेख गर्नुभएको छ । शोक सन्देशमा सार्वजनिक सेवामा महारानीको योगदान आगामी वर्षहरूमा पनि स्मरण गरिने उल्लेख गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा सन् १९६१ र १९८६ मा महारानी एलिजाबेथ द्वितीयाले नेपाल भ्रमण गरेको स्मरण गर्दै शोक सन्देशमा नेपाल–बेलायतको सम्बन्ध सुदृढीकरणमा बेलायती महारानीको योगदानको सरहना गरिएको जनाइएको छ ।

त्यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शनिबार बिहान बेलायती दुतावास पुगेर बेलायती महारानीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले दुतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश लेख्नुका साथै बेलायतका प्रधानमन्त्रीलाई शोक सन्देश पनि पठाउनुभएको छ ।

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनपछि बेलायती दूतावासले आफ्नो राष्ट्रिय झण्डा झुकाउनुका साथै दूतावासमा शोक पुस्तिका राखेको छ । ९६ वर्षीया बेलायती महारानीको निधनप्रति विश्वका नेताहरूले समवेदना व्यक्त गर्दै विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति सहानुभूति व्यक्त गरेका छन् ।