आन्तरिक कलह यथावत्, अन्तरपार्टी चुनावी तालमेलमा मरिहत्ते

0
Shares

काठमाडौं

सरकारले घोषणा गरेको संघीय र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूबीच चुनावी माहोल तातिसकेको छ । आफ्नो पक्षमा दर्विलो उपस्थिति देखाउने नाममा दलहरू आन्तरिक कलहलाई यथावत् छाडेर अन्तरपार्टी एकतामा बढी जोडबल गरिरहेका छन् ।

खास गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा समाजवादी, राप्रपाका नेता कार्यकर्ताहरूले आफ्नो आन्तरिक संगठन सुदृढीकरणमा भन्दा पनि अरू दलहरूसँगको चुनावी तालमेललाई जोड दिएर चुनाव जित्ने रणनीतिमा देखिएका हुन् । वर्तमान सत्ता साझेदार पाँच दलीय गठबन्धनका नेताहरू आगामी निर्वाचनको भाबण्डा मिलाउने अन्तिम गृहकार्यमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पूर्वपञ्चहरूको पार्टी राप्रपा, राप्रपा नेपाललगायत तराईका केही साना दलहरूलाई नै भए पनि चुनावी तालमेल गरेर जाने पक्षमा अध्यक्ष ओलीसहितका नेताहरू रहेका छन् ।

विशेष गरी दलका पहिलो पुस्ताका नेताहरू गठबन्धनको विकल्प नरहेको भन्दै लागेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राजमोका नेता चित्रबहादुर केसी एक ठाउँमा उभिएका छन् ।उता नेकपा एमाले, राप्रपा, राप्रपा नेपाल, जनमुक्ति पार्टीलगायत साना कम्युनिस्टहरू समेत बटुलेर जिल्ला तहमा चुनावी तालमेल गर्ने पक्षमा एमाले छ । फरक वैचारिक धार भएका दलहरूबीचको चुनावी एकताले राम्रो सन्देश नदिए पनि दुई समूहबीचको चुनावी परिणाममा प्रतिस्पर्धा गर्न भने सहयोग गर्नेमा नेताहरू सहमत छन् । तर यसले राजनीतिक वैचारिक धरातल भने शून्यतातर्फ लैजाने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरू जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा दुई–दुईपटक विघटन गरेर देशमा अस्थिरताको बिजारोपण गर्ने एमालेलाई पाखा लगाउने दाउमा छन् । देशको संविधान, लोकतन्त्र र विधिको शासन बचाउन गठबन्धन अनिवार्य आवश्यक रहेको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो । उहाँले भन्नुभयो– ‘गठबन्धन राष्ट्रहितमा छ, संविधानको रक्षा गर्दै देशको समृद्धि, विकास सुशासन र राष्ट्रियताका लागि पाँच दलीय गठबन्धन आवश्यक भएरै बनाएका हौं ।’ गठबन्धनका दलहरू चुनाव पछिसम्म मिलेरै देश विकासमा लाग्ने सहमति भएको भन्दै सिट संख्या लेनदेनमा घटीबढीभन्दा पनि गठबन्धनका उम्मेदवारले सबै ठाउँ जित्ने गरी छलफल भइरहेको महतले बताउनुभयो ।

त्यस्तै, माओवादी समाजवादी र जसपाले समेत गठबन्धन टुट्न नहुने तर आफ्नो पार्टीले सम्मानजनक सिट पाउनुपर्ने दाबी गरेका छन् । तर, यी दलहरूले आफ्नो आन्तरिक संगठनको अवस्थाका बारेमा खासै महत्व दिएका छैनन् । नेपाली कांग्रेसमा आन्तरिक समस्या विकराल बनेर आएको छ । गठबन्धनको औचित्यमाथि नै प्रश्न उठाउँदै आएका वरिष्ठ नेता डा. शेखर कोइराला समूहले पार्टीभित्रको समस्या नसुल्झाई अन्य दलसँग मिल्नुले कांग्रेसलाई फाइदा नपुग्ने बताएको छ । गठबन्धन केका लागि र कसका लागि भन्ने प्रश्नको जवाफ खोज्नुको सट्टा आफू सत्तामा पुग्नकै लागि मात्रै गरिएको कम्युनिस्टहरूसँगको तालमेलको नीतिले कांग्रेसको संगठनमा ठूलो क्षति पुग्ने डा. कोइरालाले बताउनुभयो ।

सिट बाँडफाँटमा संगठनको साख बचाउने गरी कम्तीमा सय लिने र चुनाव जित्ने नेताहरूलाई टिकट व्यवस्थापन गर्ने कुरामा सभापतिले ध्यान दिनुपर्ने कोइरालाको अडान छ । उहाँले भन्नुभयो– ‘एक त आन्तरिक संगठन धरापमा राखेर अरू दलहरूसँग गरिएको गठबन्धनले ३० लाख बढी मतदाताले कांग्रेस पार्टी चिन्दैनन्, यसले पार्टी कार्यकर्तामा विचलन आउँछ, अर्को कुरा टिमका नाममा चुनाव जित्ने नेताहरूलाई व्यवस्थापन गर्न नसक्दा विद्रोह समेत हुन सक्छ ।’कांग्रेसमा संस्थापन पक्षले इतर पक्षलाई २० प्रतिशत पनि टिकट नदिने संकेत देखाइसकेको भन्दै नेताहरू आक्रोशित हुन थालेका छन् ।

सत्ताबाहेक अरू नदेखे पार्टी नेतृत्वलाई आन्तरिक संगठनभन्दा अरू दलहका नेता प्यारो हुन थालेको उनीहरूको आरोप छ ।नेकपा एमालेभित्र पनि केपी ओलीले आफू अनुकूल नरहेका नेताहरूलाई पाखा लगाउने पक्षमा हुनुहुन्छ । उहाँले संगठनको हितमा आफ्नो आलोचना गर्ने नेताहरूलाई टिकट नै नदिने अवस्था रहेको एमालेका नेताहरूको भनाइ छ । यदि टिकट दिइहाले पनि अघिल्लोपटक वामदेव गौतमलाई जस्तै चुनाव हराउन सक्ने भन्दै सानातिना दलसँगको गठबन्धनभन्दा आन्तरिक संगठनलाई बलियो बनाउन लाग्नुपर्ने एमालेका नेताहरूको भनाइ छ । टुक्रा दलहरूसँगको एकताको अर्थ नहुने एमालेभित्रकै एकाथरी नेताहरूको बुझाइ छ ।

यद्यपि, सत्तारुढ दलहरूले गठबन्धन गरेपछि दबाबमा परेको नेकपा एमालेले साना पार्टीहरूसँग तालमेलको प्रक्रिया अगाडि बढाएको हो । अध्यक्ष केपी शर्मा ओलीकै अग्रसरतामा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेलको प्रयत्न भइरहेको छ । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले एमालेसँग तालमेलबारे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले छलफल गरिरहेको बताउनुभयो । जिल्लाको संगठनको अवस्था हेरेर जिल्ला जिल्लामा अवस्थाअनुसार सहयोग गर्ने भन्ने छलफल चलिहरेको र केही समयमै के कति सिट लेनदेन गर्ने भन्ने विषयको टुंगा लाग्ने तामाङले बताउनुभयो ।

एकातिर साना दलहरूसँग चुनावी एकता थालेका अध्यक्ष ओलीले एमालेबाट छुट्टिएर नेपा एकीकृत समाजवादी गठन गर्दा माधव नेपालका पक्षमा उभिएका नेताहरूलाई ओलीले पाखा लगाउने संकेत देखाइसकेका छन् । ओली प्रवृत्तिको आलोचकका रूपमा देखिएका नेता घनश्याम भुसाल रूपन्देही–३ बाट सिफारिस भए पनि उनी एक्लै सिफारिस छैनन् । भुसाललाई असहयोग गर्नकै लागि अरू आकांक्षीहरू थपिएको एमालेका स्थानीय नेताहरू बताउँछन् । रूपन्देही–२ मा विष्णु पौडेल र रूपन्देही–५ मा खिमलाल भट्टराई सर्वसम्मत सिफारिस हुँदा ३ मा भने भुसालसँगै थप ३ जनालाई सिफारिस गरेर उनलाई पार्टीभित्रै घेराबन्दी गर्ने प्रयास भइरहेको एमालेका स्थानीय नेता थानेश्वर पौडेलले बताउनुभयो ।

‘भुसालजस्तो केन्द्रीय नेतासँग जिल्ला तहका नेताको नाम सिफारिस गरेर घेराबन्दीको दुष्प्रयास गरिँदै छ’, उहाँले भन्नुभयो– ‘यो पार्टी सिध्याउने हर्कत भएकाले नेताहरूले समयमै नबुझे संकट आउनेछ ।’ पार्टी संगठन एक हुँदा २०७४ को चुनाव जितोको एमालेले आन्तरिक समस्यामा फसेपछि २०७९ को स्थानीय चुनाव हारेको स्मरण गराउँदै पौडेलले भन्नुभयो– ‘कसैले पनि मनमा तुष नराखी एक भएर लागे धेरै ठाउँमा जित हासिल हुन्छ ।’

आगामी मङ्सिरमा हुने निर्वाचनका लागि यस क्षेत्रमा कांग्रेसका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण उठ्ने तयारीमा हुनुहुन्छ । यसले भुसाललाई कमजोर बनाउने स्थानीयको बुझाइ छ । यसरी दलहरूले संगठन सुदृढीकरणदेखि आन्तरिक एकतालाई समेत बलियो नबनाई अन्तरपार्टी चुनावी एकतालाई मात्रै जोड दिँदा आफ्नो विचार सिद्धान्त र संगठन मर्दै जाने र राजनीतिक वैचारिक धार सकिने अवस्थामा दलहरू पुग्नेछन् ।