दार्चुलामा बाढी र पहिरोको वितण्डा

५ को मृत्यु, १० बेपत्ता

0
Shares

दार्चुला । 

दार्चुलामा अविरल वर्षापछिको बाढीपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । १० जना बेपत्ता छन् । लास्कु खोलामा आएको बाढीमा परेर दुई र नौगाड गाउँपालिकामा आएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण दार्चुलामा ठूलो जनधनको क्षति भएको हो ।

लास्कु खोलामा आएको बाढीले बगाएर महाकाली नगरपालिका–१ की मानमती कार्की र महाकाली–२ का नन्दराम बोहराको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ सल्लामा खसेको पहिरोले घर पुरिँदा स्थानीय जानकी ठगुन्ना, धनुली ठगुन्ना र मोहनराम पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।बाढीमा परेर महाकाली–४ की सरस्वती लुहार र उनका पति मोहन लुहार, महाकाली–३ का धनसिंह कार्की, उनका छोराहरू दीपक कार्की र दिनेश कार्की बेपत्ता छन् ।

यस्तै, महाकाली–२ की मानमती शाहु, महाकाली–१ की मन्जु लुहार, दिनेश लुहार, डल्ली लुहार र साजन लुहार बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।बाढीमा परी महाकाली–२ का हर्क शाहु, अभिषेक कामी, गीता कामी, रम्भा ठगुन्ना, फागुनी ठगुन्ना, जयबहादुर ठगुन्ना, देवसिंह ठगुन्ना र वीरे ठगुन्ना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीपहिरोले महाकाली नगरपालिका–४ बंगाबगडका ३२ घरमा पूर्ण रूपमा क्षति पु¥याएको तथा ९ घरमा आंशिक क्षति भएको छ, भने बाढीपहिरोकै कारण सो क्षेत्रका ४० घर उच्च जोखिममा रहेका छन् ।

बाढीका कारण महाकाली–२ स्थित भुवनेश्वरी आधारभूत विद्यालय पण्डोराको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । महाकाली–४ स्थित दशरथ आधारभूत विद्यालयको भवन पनि पूर्ण रूपमा क्षति भएको छ । यस्तै दुहुँ र महाकाली जोड्ने झोलुंगे पुल र लास्कु खोलामा रहेको मोटरेबल पुल बाढीले बगाएको छ । लास्कु खोलानजिकै पार्किङ गरी राखिएका ६ जिप, एक कार, एक ट्याक्टर, एक जेसीबी गरी नौ सवारीसाधन बाढीले बगाएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको एयर एम्बुलेन्समार्फत पहिरोमा परी गम्भीर घाइते भएकाहरूको उद्धार गरिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भीर घाइते ४५ वर्षीय वीरेन्द्र ठगुन्ना, वर्ष ४० का जयबहादुर ठगुन्ना, ३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देव सिंह ठगुन्नालाई उद्दार गरी सदरमुकाम खलंगा ल्याएको नेपाली सेनाको गुरु गोरख गुल्मले जनाएको छ ।

उनीहरू पहिरोमा परी गम्भीर घाइते भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो । गम्भीर घाइते उनीहरूको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । घाइतेमध्ये वीरेन्द्र ठगुन्नाको अवस्था नाजुक रहेको बताइएको छ ।यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल र उद्योग, वन तथा वातावरण मन्त्री मानबहादुर धामी बाढी प्रभावित क्षेत्र दार्चुला आइपुग्नुभएको छ । उहाँहरू राहत सामग्री लिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला पुग्नुभएको हो ।

बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बलहरूलगायतका राहत सामग्रीसहित मन्त्रीहरूको टोली दार्चुला आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले पनि बाढीपहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।