नेपाल चिकित्सक संघको आन्दोलन फिर्ता



काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो (संशोधन) ऐन २०७९ बमोजिम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत डा.करण शाहमाथि शारीरिक हमला गर्ने दोषीलाई पूर्पक्षमा राखि जिल्ला अदालतबाट उक्त ऐन बमोजिम कानूनी कारबाही अगाडी बढेको छ ।

जिल्ला अदालतबाट गरिएको निर्णयका सम्बन्धमा पुनरावेदनमा जान सक्ने प्रावधानसमेत सुरक्षित रहेकोले निर्णयको पूर्णपाठ आएपश्चात् कानूनी परामर्श लिई अगाडी बढ्ने विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

अस्पताल वा स्वास्थ्य संस्थामा उपचारको क्रममा हुने कुनै पनि घटनालाई लिएर विरामी वा विरामीका आफन्तलाई कुनै शंका उत्पन्न भएको अवस्थामा मुलकी अपराध (संहिता) ऐनको इलाज सम्बन्धी दफामा केही परिमार्जन गर्न “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७” प्रमाणीकरण भई लागू भइसकेको अवस्थामा एक कर्मचारीले चिकित्सकमाथी कुटपिट गरे लगत्तै उनलाई पक्राउ गरि कारबाही शुरु गरिएको छ ।

उक्त परिमार्जित संहिताको दफा १८९ मा उपदफा (२) र (४) थप गरी यस संहितामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि अपराध संहिताको दफा २३१, २३२, २३३ र २३८ बमोजिमको कसूरको अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ सदस्य अनुसन्धान समिति गठन गरी अनुसन्धान प्रक्रिया अगाडी बढाउने स्पष्ट उल्लेख भएको गरिएको छ ।

यो कानून प्रभाणित भएपछि अस्पताल वा स्वास्थ्य संस्थामा उपचारको क्रममा कुनै शंका उत्पन्न भएमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई सिधै पक्राउ पुर्जी जारी गर्नुको सट्टा माथि उल्लेखित अनुसन्धान समितिको सिफारिस बमोजिम कानूनी कारबाही अगाडि बढाउन समेत चिकित्सक संघले सरोकारवाला निकायको ध्यानाकर्ष गर्दै विज्ञप्तिमार्फत अपिल गरेको छ ।

डा.करण शाहका सम्बन्धमा नेपाल चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटमका सम्बन्धमा जिल्ला अदालतबाट आवश्यक कानूनी कारबाही अगाडि बढेको तथा डा.शाहलाई झुट्टा मुद्दा लगाई पक्राउ पुर्जी जारी गरिएको सम्बन्धमा समेत उक्त मुद्दा फिर्ता लिने प्रक्रियाका लागि आवश्यक कारबाही अगाडि बढेकोले संघले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरिएको संघका महासचिव डा.बद्री रिजालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्