दार्चुलामा डेंगु संक्रमणबाट ५ वर्षीया बालिकाको मृत्यु



दार्चुला । डेंगु संक्रमणबाट ५ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिनुभयो ।

बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको र भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखाएको संयोजक ओझाले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा चेकजाँच गर्दा ती बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिनुका साथ अस्पतालले भर्ना गरेर उपचार गर्ने सुझाव दिएको तथा आफन्तहरुले भर्ना गरेर उपचार गर्न नमाने अस्पतालले जनाएको छ ।

आफन्तहरुले अन्य ठूलो अस्पताल लिने भनेर विरामी बालिकालाई अस्पताल नपुर्याएर पुनः घरमै लगेको खुल्न आएको छ । बालिकालाई घरमा ज्वरोले झन् च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा उनको ज्यान गएको बताइएको छ ।

डेंगु संक्रमणका कारण शरीरमा पानीको मात्रा कम हुने, सेतो रगतको मात्रा कम हुने तथा रक्त संचार प्रणालीमा प्रत्यक्ष असर परेर विरामीको मृत्यु हुने गरेको जिल्ला अस्पतालका प्रमुख डा.अदर्श लिम्बुले जानकारी दिनुभयो ।

एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गरेको उहाँले बताउनुभयो । वर्षातको मौसममा फुलदानी, पानीको ट्यांकी र पुराना टायर आदिमा जमेको पानीमा यो जातको लामखुट्टेले फुल पार्ने तथा त्यसैबाट यसको वृद्धि भएर डेंगुको प्रकोप बढ्ने बताइएको छ ।

यो लामखुट्टेले दिनमा टोक्ने भएकाले त्यसबाट जोगिन पूरै शरीर ढाकिने गरी लुगा लगाउन उहाँले सुझाव दिनुभएको छ । डेंगुको संक्रमण भएमा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने र वाकवाकी लाग्नु वा वान्ता हुने जस्ता लक्षणहरु देखा पर्ने उहाँको भनाइ छ ।

यसैबीच दार्चुलामा डेंगुको संक्रमण झन् बढेको छ । जिल्लामा हाल सम्म ३९ जनामा डेंगुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ । जिल्लाको महाकाली नगरपालिकाका २७ जनामा डेंगुको संक्रमण देखिएको छ, भने मालिकार्जुन गाउँपालिकाका ३ जना, अपिहिमाल गाउँपालिकाका २ जनामा डेंगुको संक्रमण देखिएको छ ।

यस्तै नौगाड गाउँपालिकाका २ जना, दुहुँ गाउँपालिकाका ३ जना र ब्याँस गाउँपालिकाका २ जनामा डेंगु रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्