रामेछापमा १६ जनामा डेंगु संक्रमण



रामेछाप । रामेछापमा १६ जना डेंगु संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्ला अस्पताल रामेछाप र मन्थली अस्पतालमा परीक्षण गर्न आएकामध्ये १६ जना डेंगु संक्रमित भएका हुन् ।

हालसम्म जिल्ला अस्पताल रामेछापमा ११ जना र मन्थली अस्पतालमा ५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार रामेछापमा डेंगुका विरामीहरूको संख्या दैनिक रूपमा बढिरहेको छ ।

ज्वरो आउने, जिउ दुख्ने, पेट दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण भएर आएका विरामीमा परीक्षण गर्दा अहिलेसम्म ५ जनामा डेंगु संक्रमण भेटिएको मन्थली अस्पतालका प्रमुख डा. समीर क्षेत्रीले बताउनुभयो ।

डेंगु रोग लाग्ने विरामीको संख्या बढ्दै गएकाले यसलाई मध्यनजर गरी मन्थली अस्पतालले डेंगुका विरामीको उपचारमा विशेष ध्यान दिएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनुभयो ।

मन्थली अस्पतालले अहिले डेंगु परीक्षणको दर बढाएको छ । विरामीहरूलाई वार्डमा झुलभित्र राखेर उपचारको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख फुयाँलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्