स्वास्थ्य केन्द्रबाट अब घर-घरमा



काभ्रे । धुलिखेल अस्पतालले स्थापनाको २५ औ बर्ष पुरा गरेको अवसरमा वर्षभरी विभिन्न कार्यक्रम आयोजना गरी विगतको समिक्षा र आगामी दिनका लागि नागरिकहरुको स्वास्थ्य सेवामा अस्पतालले खेल्नु पर्ने भूमिकाका बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको छ । पब्लिक हेल्थ कार्यक्रम स्वास्थ्य केन्द्रबाट अब घर घर पुगेको छ ।

‘धुलिखेल अस्पताल शुरु भएको २५ वर्ष पुरा भएको छ । २३ वर्ष अघि पहिलो पटक संस्थापक डा. रामकण्ठ माकजु, डा. राजेन्द्र कोजु र उहाँको टिम बोल्दे फेदिचे पुगेर सामुदायिक स्वास्थ्यका बारेमा अभियान शुरु भएको थियो’–धुलिखेल अस्पतालका पब्लिक हेल्थ कार्यक्रमका संयोजक डा.विराज कर्माचार्यले भन्नुभयो–‘त्यहाँबाट शुरु भएको पब्लिक हेल्थ कार्यक्रम १८ वटा स्वास्थ्य केन्द्र मार्फत संचालन भएको छ भने धुलिखेल र आसपासका क्षेत्रमा घर घरमा स्वास्थ्यकर्मी पुग्न थालेका छन् ।’

पब्लिक हेल्थ कार्यक्रम अन्र्तगत सुगरका विरामीका लागि डाईविटिज नर्स, स्वास्थ्यसँग नीति, ब्यवहार परिवर्तन, भ्याक्सिनको प्रयोग, महिला स्वास्थ्य, बालबालिका, स्कुल स्वास्थ्य लगायतका कार्यक्रम संचालन छन्

। ‘स्थानीय सरकारसँगको समन्वयमा पहिलो पटक धुलिखेलमा धुलिखेल स्वस्थ कार्यक्रम शुरु भएको छ’–डा. विराज कर्माचार्यले भन्नुभयो–‘धुलिखेलका ७ हजार घर परिवारमा पुगेर गरिएको सर्भेक्षणले नगरका सबै नागरिकहरुलाई स्वस्थ बनाउने छ ।’ यो नेपालकै नमुना कार्यक्रम भएकाले अन्य प्रदेश र पालिकाले यसको नमुनाका लागि सोधपुक्ष गरिरहेको डा.विराज कर्माचार्यले बताउनु भयो ।

सोहि अवसरमा पब्लिक हेल्थ कार्यक्रम संचालन गर्न समुदायले गरेको सहयोग, समुदायमा पारेको प्रभाव र नागरिकले प्राप्त गरेको स्वास्थ्य सेवाका बारेमा चर्चा भएको थियो । रोगको पहिचान र परिक्षण हुन नसक्दा नागरिकहरुले प्राप्त गरेको दुख र स्वास्थ्य केन्द्र सूचारु भए पछि फेरिएको अवस्थाका बारेमा चर्चा गरिएको थियो ।

आगामी दिनमा नागरिकहरुले घर घरमा स्वास्थ्य सेवाको पहुँच राख्ने गरी स्वास्थ्य संस्थाहरुले कार्य गर्न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र सरोकारवाला निकायको समन्वय आवश्यक रहेको बताईएको थियो ।

अस्पतालका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका पुर्व प्रमुख बेलप्रसाद श्रेष्ठ, अस्पतालका सस्थापक डा. रामकण्ठ माकजु, काठमाडौ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, नेपाली सेना भकुण्डेका बाहिनीपति ज्योतिन्द्र महत, धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम लगायतले धुलिखेल अस्पतालले पब्लिक हेल्थमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा धुलिखेल अस्पतालले रोगको पहिचान र परिक्षणसँगै स्थानीय समुदायमा पुगेर दिएको स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन समुदाय र स्थानीय सरकारको सहयोग आवश्यक रहेको निश्कर्ष निकालिएको थियो ।

समुदायका नाममा खुलेका संस्थाहरु समुदाय प्रति भन्दा पनि ब्यवसाय तर्फ केन्द्रित भएकाले सचेत रहनु पर्ने सहभागिहरुले बताएका थिए । पब्लिक हेल्थ कार्यक्रमकी डा. आभा श्रेष्ठ, डा. अर्चना श्रेष्ठ लगायतले पब्लिक हेल्थ महत्वपूर्ण बन्दै गएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्