महानगरको कारबाही : आज महाराजगन्ज, क्षेत्रपाटी र कलंकीमा 

हालसम्म करिब २ सय ५० संरचना हटाइयो

0
Shares

काठमाडौं । वडा अध्यक्षले तयार गरेको सूचीको आधारमा मापदण्डविपरीत संरचना भत्काउन शुरू गरेको काठमाडौं महानगरले आज बुधबार महाराजगन्ज, क्षेत्रपाटी र कलंकीमा मापदण्डविपरीत निर्माण भएका संरचना हटाउने भएको छ ।

महानगरले बिहान महाराजगन्जदेखि वसुन्धरा क्षेत्रका केही भवन भत्काउने तयारी गरेको छ । त्यस्तै, दिउँसो क्षेत्रपाटी र कलंकीस्थित मकालु पेट्रोल पम्प क्षेत्रका अवैध संरचना हटाउन लागेको हो ।

महानगर वडा नम्बर ३, १७ र १४ का वडा अध्यक्ष र प्राविधिक टोलीले तयार पारेको लिस्टको आधारमा अवैध संरचना हटाउन लागिएको हो । ३२ वटै वडाले आफ्नो क्षेत्रका अवैध संरचनाको तथ्याङ्क संकलन गरेको छ । महानगरको चार क्षेत्रका प्रहरीको रिपोर्टको आधारमा संरचना भत्काउन लागेको हो । कामपाले भत्काउनु अघि घरधनीलाई जानकारी गराइसकेको छ ।

शुरूमा मेयर बालेन्द्र साह आफैं डोजरसहित भत्काउन पुग्नुभएको थियो । पछिल्लो समय मेयर साहको कामप्रतिको आलोचना बढ्दै गएपछि वडा कार्यालय, महानगर प्रहरी र नेपाल प्रहरीको समयोगमा वडा कार्यालयले भत्काउन थालेको हो ।

कामपा शहरी विकास विभागले अवैध र मापदण्डविपरीत बनेका घरको विवरणबारे वडा कार्यालयलाई जानकारी गराएपछि वडा कार्यालयको सहयोगमा भत्काउने गरेको छ । कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कुन क्षेत्रको अवैध संरचना भत्काउन हो भन्ने विषयमा सोही दिन बिहान जानकारी हुने र सोहीअनुसार कारबाही अघि बढाउने गरेको प्रमुख पाण्डेको भनाइ छ ।

उहाँले आज भत्काउने संरचनाको विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी जुनसुकै बेला पनि तयारी अवस्थामा रहनेछौं, विभाग र वडाले भत्काउने क्षेत्र र भवनको बारेमा जानकारी दिएपछि तत्काल टोली पुगेर भत्काउनेछ ।’

कामपाले हिजो मंगलबार असन, इन्द्रचोक, भेडासिंह, भोटाहटीलगायत भित्री शहरी क्षेत्रको बाटोमा राखेको पसल हटाउन निर्देशन दिएको छ । ‘निर्देशनअनुसार व्यवसायी आफैंले नहटाएर महानगरले भत्काउनेछ’, प्रहरी प्रमुख पाण्डेले भन्नुभयो– ‘केही दिनको समय दिएका छौं, त्यस बेलासम्म नहटाए बल प्रयोग गरी हटाउन बाध्य हुनेछौं ।’

कामपाले नियमविपरीत संरचना हटाउन थालेको करिब तीन सातामा करिब २ सय ५० संरचना हटाएको छ । कामपाका अनुसार कोटेश्वर, बानेश्वर र गंगबु बसपार्कमा मात्रै करिब २ सय घरटहरा भत्काएको छ । कामपा प्रहरी प्रमुख पाण्डेले हालसम्म १९ स्थानमा भूमिगत पार्किङका लागि वेसमेन्ट खाली गरेको छ ।

तथ्याङ्कअनुसार काठमाडौं मलको भुइँतलाको सटर, आरबी कम्प्लेक्स भित्रको अनधिकृत सटर, सुरज आर्किडको भूमिगत पसल, न्युरोडस्थित कासा भवनको भूमिगत तलामा रहेको नबिल बैंक, बिरा कम्प्लेसको होलसल पसल, कानेश्वर प्लाजाको ई–ब्लक, अल्फाबिटा कम्प्लेक्स, बत्तीस पुतलीको मुक्तिनाथ बैंक र बर्गर हाउस, शंखमूल जाने बाटोको बर्गर हाउस, बानेश्वरको रारा कम्प्लेक्सको जी सप, दरबारमार्गको नेपाल ट्रस्टको भवनको भुइँतला, दरबार मल, रानीबारीको सेन्च्युरी बैंक बसेको भवन, सामाखुसीको खड्का भवन, कलंकीको स्मार्ट तारा हाउस, एभरेस्ट गेस्ट हाउस र माछापोखरीमा रहेको माछापोखरी सपिङ सेन्टरको भवनको वेसमेन्ट खाली गरिसकेको छ ।

कामपाले इन्द्रजात्राका अवसरमा महानगरका प्रहरी खटाउनुपर्ने भएकाले भोलि बिहीबारबाट केही दिन स्थगित हुने भएको छ । दशैंसम्म अधिकांश बेसमेन्टमा बनेका संरचना हटाउने गरी तयारी भइरहेको कामपाले जनाएको छ ।