अरबपति विनोद चौधरीको नाम दुई जिल्लाका तीन ठाउँबाट सिफारिस

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारमा तीन ठाउँबाट सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य चौधरीको नाम नवलपरासीको क्षेत्र नम्बर १ का साथै नवलपुर निर्वाचन क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको हो ।

नवलपरासी १ मा कांग्रेस नेता चौधरीसहित पाँचजनाको नाम सिफारिस भएको छ । नवलपुर क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्वमहामन्त्री डा। शशांक कोइरालाले निर्वाचन लड्दै आएका छन् । उनी तीनपटक यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुन् । यसपटक पनि पूर्वमहामन्त्री कोइरालाले निर्वाचन लड्ने आकांक्षा राखेका छन् ।

नवलपुर क्षेत्र नम्बर २ मा कांग्रेस नेता एवं उद्योगी चौधरीलाई उम्मेदवार बनाउनुपर्ने स्थानीयको माग छ । उनले उक्त क्षेत्रमा पछिल्लो समय व्यापक सक्रियता बढाएका छन् ।

कांग्रेस नेता चौधरीले पार्टीको निर्णयअनुसार आफू जहाँबाट पनि चुनावमा उठ्न तयार रहेको बताउँदै आएका छन् । कांग्रेसले अघिल्लो पटक समानुपातिक सूचीमा रहेका नेताहरुलाई यसपटक नदोहोर्‍याउने नीति लिएको छ । कांग्रेस नेता चौधरी २०७४ सालमा समानुपातिकतर्फ सांसद बनेका हुन् । चौधरीले टिकट पाउने पक्कापक्की भए पनि निर्वाचन क्षेत्र भने यकिन भएको छैन ।