गठबन्धनका नेताहरूलाई मिलाउन देउवालाई सकस

एक दर्जन बढीलाई मुख्यमन्त्रीको आश्वासन

0
Shares

डडेल्धुरा । 

तीन पटकसम्म आफूसँग प्रतिस्पर्धा गरेर पराजित भएका नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह प्रदेशमा आफ्नै दलका नेताको व्यवस्थापन गर्न सकस परेको छ ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनाउने आश्वासन दिएर गठबन्धनका तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेश सभा सदस्य उम्मेदवार बनाउने सहमति गर्नुभएको हो । तर, सो क्षेत्रबाट प्रदेश सभा सदस्य उम्मेदवार बन्न लामो समयदेखि तयारी गरेका नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले गठबन्धनमा आबद्ध राजनीतिक दलहरूबीच स्वच्छ प्रतिस्पर्धा हुने र डडेल्धुरामा गठबन्धन नहुने बताउनुभयो ।

नेपाली कांग्रेस डडेल्धुरा जिल्लामा एक्लै निर्वाचनमा होमिने तयारीमा छ । गठबन्धनमा संलग्न राजनीतिक दलहरूबीच स्वच्छ प्रतिस्पर्धा हुने नेपाली कांग्रेस डडेल्धुराका नेताहरू बताउँछन् । नेपाली कांग्रेस डडेल्धुराका सभापति साउद आफैं मुख्यमन्त्रीका सशक्त दाबेदार भएको र साउदलाई मुख्यमन्त्री बनाउने आश्वासन प्रधानमन्त्री देउवाबाट प्राप्त भएको निकटस्थ नेताहरू बताउँछन् । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र ‘क’ डडेल्धुराका सभापति कैलाशकुमार पाण्डेयले जिल्लामा कांग्रेसका उम्मेदवारहरू सहजै जित्ने भएकाले गठबन्धन नहुने जिकिर गर्नुभयो । ‘माओवादी केन्द्रका नेता खगराजभन्दा पनि डडेल्धुरा कांग्रेसका सभापति साउद मुख्यमन्त्री हुने गरी निर्वाचनमा प्रतिस्पर्धा गर्नुहुन्छ,’ पाण्डेयले भन्नुभयो–‘कांग्रेसको संगठन बलियो रहेको डडेल्धुरामा चुनावी गठबन्धनको औचित्य नभएकाले हामीले एक्लै चुनावमा होमिने निर्णय गरिसकेका छौं ।’

गृहजिल्लामै गठबन्धन धरापमा परिरहेका बेला प्रधानमन्त्री देउवालाई गठबन्धनमा संलग्न राजनीतिक दलका नेताहरूको व्यवस्थापन निकै चुनौतीपूर्ण देखिएको छ । आफ्नै दलभित्रका नेताहरूको व्यवस्थापन गर्न प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने दौडमा रहेका झन्डै एक दर्जन नेताहरूलाई मुख्यमन्त्रीको आश्वासन दिँदै प्रदेश सभामा निर्वाचन लड्न प्रधानमन्त्री देउवाले दबाब दिन थाल्नुभएको छ ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति पूर्वमन्त्री वीरबहादुर बलायरलाई प्रदेश सभामा प्रतिस्पर्धा गरेर मुख्यमन्त्री बन्न सुझाव दिनुभएका प्रधानमन्त्री देउवाले डोटीकै अर्का नेता भरतबहादुर खड्कालाई पनि मुख्यमन्त्री बनाउने आश्वासन दिनुभएको नेपाली कांग्रेस डोटीका नेताहरू बताउँछन् । डोटीमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आले मगरलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन देउवाले आफ्नो पार्टीका नेताहरूलाई प्रदेश सभामा प्रतिस्पर्धा गर्न निर्देशन दिनुभएको हो ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा माओवादी नेतृ बिना मगरलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन सो क्षेत्रबाट आकांक्षी नेपाली कांग्रेसका नेता दिवानसिंह विष्टलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएर मुख्यमन्त्री बन्न प्रधानमन्त्री देउवाले सुझाव दिनुभएको छ भने कैलाली–५ मा धर्मपत्नी डा. आरजु राणालाई टिकट दिन नेपाली कांग्रेस कैलालीका पूर्वसभापति तथा सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री नरनारायण शाहलाई पनि प्रदेश सभामा लडेमा मुख्यमन्त्री बनाउने आश्वासन दिनुभएको छ ।

नेपाली कांग्रेस बैतडीका नेता पूर्वमन्त्री नरबहादुर चन्द र लोकराज अवस्थी, बझाङका सुरेश मल्ल र पृथ्वीबहादुर सिंह, बाजुरा कांग्रेसका नेता पूर्वमन्त्री जनकराज गिरी, मनबहादुर रावललगायत एकदर्जन नेताहरूलाई मुख्यमन्त्री बनाउने भन्दै प्रदेश सभामा लड्न देउवाले सुझाएको नेताहरू बताउँछन् । दार्चुलाका बिक्रमसिंह धामी, जगदिश पाल र महादेव बडुका साथै अछामका मेघराज खड्कालगायतका नेताहरूलाई प्रधानमन्त्री देउवाले प्रदेश सभामा प्रतिस्पर्धा गर्न सुझाव दिनुभएको भएको थाहा भएको छ । प्रदेश सभामा निर्वाचन लड्न इन्कार गर्ने नेताहरूलाई मुख्यमन्त्रीको आश्वासन दिइन थालिएको हो ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति तथा पूर्वमन्त्री बलायरले पार्टीका नेताहरूको व्यवस्थापन गर्न कठिनाइ भइरहेका बेला अन्य दलसँग गठबन्धन गर्नुको कुनै औचित्य नरहेको बताउनुभयो । उहाँले प्रदेशको मुख्यमन्त्री बन्ने अवस्था भए पनि आफूले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने बताउनुभयो ।