काभ्रेको भुम्लुमा रेविज आतंक



– एक महिनामै ५० भन्दा धेरै पशु चौपाया मरे
– मरेको भैसीको मासु १९ परिवारका ५१ जनाले खाए
– २ सय ८९ जनालाई रेविज विरुद्धको खोप

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा रेविजको आतंक फैलिएको छ । एक महिनामा ५० भन्दा धेरै पशु चौपायाको निधन भए सँगै गाउँ त्रसित भएको हो । स्वास्थ्य कार्यालय काभ्रे, पालिकाको स्वास्थ्य शाखा, पशु स्वास्थ्य शाखाले रोकथामको प्रयास गरे पनि नियन्त्रण बाहिर गएको छ ।

‘भुम्लु गाउँपालिकाको वडा नम्वर १ सापिङको कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से, खोलमबारीमा एक महिनाको बीचमा ५० भन्दा धेरै पशु चौपाया मरिसकेका छन्’–स्थानीय दावा लामाले भन्नुभयो–‘मरेको भैसीको मासु खाए पछि गाउँ त्रसित छ । भैसीको मासु खानेहरु खुल्न नसक्दा गाउँमा थप सन्त्रास फैलिएको छ ।’

सापिङको कात्तिकेबाट किनेर भुम्लुबेशी पु¥याईएको राँगो पनि रेविजकै कारण मरे पछि वडा नम्वर १, ७ र ८ रेविजको संक्रमित क्षेत्र भएको छ । स्वास्थ्य शाखा प्रमुख सुर्दशन भट्टराईले भैसीको मासु खाने मध्येका १९ परिवारका ५१ जना सहित २ सय ८९ जनालाई रेविज विरुद्धको खोप लगाईएको छ । भाद्र १६ गते भुम्लुबेशीमा मरेको राँगोमा रेविज पुष्टी भए पछि थप त्रास फैलिएको छ ।

सापिङ्ग कात्तिकेका दावा लामाका अनुसार पछिल्लो एक महिनामा हर्कजित तामाङको एउटा भैसी, भक्तबहादुर लामाको एउटा भैसी र शान्ति लामाको एउटा भैसी मरेको छ । स्वंय दावा लामाको घरको कुकुर र राँगोलाई रेविज लागेको बहुला कुकुरले टोक्यो । तत्कालै रेविज विरुद्धको खोप लगाएकाले केहि भएको छैन ।

दुईवटा कुकुर कात्तिकेमा मरेका छन् । जफरबहादुर तामाङ र कृष्णबहादुर बम्जनका कुकुर मरेका छन् । गाई, भैसी, बाख्रा पनि मरेका छन् । स्थानीय रामचन्द्र गिरीका अनुसार आरनगाउँ, भारति गाउँ, गैराटोलमा रेविजबाट धेरै पशुपक्षी मरेका छन् । सविन गिरीको एउटा गाई मरेको छ भने हरि गिरीको पनि एउटा गाई मरेको छ । खुसल आरन गिरीको पनि गाई मरेको छ । गाउँभरी कुकुरले पशुपक्षी टोक्ने, पशुलाई राखेको पानीमा ¥याल चुहाउने गरेको स्थानीयले देखेका थिए ।

भारतिगाउँ र आरनगाउँका स्थानीयहरुले कुकुरलाई नियन्त्रणमा लिएर मारेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले पशुहरुको शंकास्पद मृत्यु हुन थालेपछि परिक्षणसँगै रोकथाम शुरु गरिएको बताउनु भयो । ‘रेविजको पहिचान, परिक्षण र रोकथाम शुरु गरिएको छ’–डा. सेढाईले भन्नुभयो–‘भुम्लुमा रेविजको आतंक फैलिएको छ, समयमै जनचेतनाका साथ नियन्त्रणका लागि सबै पक्ष सक्रिय हुनु आवश्यक छ ।’

आरनगाउँमा सिता गिरीको भैसी म¥यो । बाख्रा पनि मरे । कुकुरले बाख्रालाई पनि टोकेको थियो । सिताको परिवार नेपाली सेनामा छ । छिमेकी मिनाकुमारी आरन गिरीको परिवारले विष राखेर खुवाएकोले भैसी मरेको आरोप लगाउँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गर्ने बेला सिताले पानी ढलोका कारण असर परेको बताउनु भएको थियो ।

तर छलफलमा भैसीलाई विष राखेर मारेको आरोप लगाएकी थिईन् । मरेर गाढेको भैसीको सिनो निकालेर परिक्षण गरेपछि रेविजका कारण मरेको पुष्टी भएको थियो । सिताको छिमेकी नमकुमारी गिरीका चारवटा बाख्रा मरेका छन् । एउटा घाईते छ । अर्काे पनि विरामी छ । शुरुमा तौल कम हुँदै जाने, खोक्ने, सिंगान बगाउने, ¥याल काढ्ने र केहि दिन पछि मर्ने ।

एउटा बोको भिमसेनलाई सम्झेकाले घिटिघिटी छ । धेरै बाख्रा मर्न थाले पछि बोको जन्मने वितिक्कै नमकुमारीले भिमसेनको बोको भनेर नाम राखिदिएकी थिईन् । नमकुमारीको एउटा बाख्रा चितुवाले पनि खाएको छ । भारती टोलकी भक्ति गिरीको गाई मरेको छ । गोमा आरनका ३ वटा पाठा मरेका छन् । भैसीले मरेकै पाडो पायो । भैसी सुत्केरी भएको लामो तीन दिन (आईतबारसम्म) दुध दिएको छैन । घाँस पात खाएको छैन ।

सापिङका अधिकांश स्थानमा पशुपक्षी मर्न थालेका छन् । जोडिएको भुम्लुबेशीमा पनि मर्न शुरु गरेका छन् । भुम्लुबेशीका चन्द्रबहादुर तामाङले सापिङबाट खरिद गरेको राँगोमा रेविज पुष्टी भयो । स्थानीय भन्छन गाउँ नै सखाप हुन लाग्यो स्थानीय सरकारले समयमै ध्यान दिन आवश्यक छ ।

के ग¥यो टोलीले ?

रेविजको हल्ला फैलिए सँगै स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईको टोलीले भुम्लु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुर्दशन भट्टराई, भुम्लु आधारभुत अस्पतालका मेडिकल अधिकृत डा. विपुल शर्मा, भुम्लु आधारभुत अस्पतालमा कार्यरत अनमी प्रमिला बराल, प्रकाश मावि, भुम्लुटारकी विद्यालय नर्स दिलकुमारी बोहोरा लगायतको टिम बनाएर खोप अभियान संचालन ग¥यो ।

पशु स्वास्थ्य शाखा भुम्लुटारका प्रमुख विजय थापाको टिमले पशुहरुमा खोप दिने अभियान शुरु गरे । तर पनि स्थानीयहरुको घर घरमा पुगेर तथ्यांक लिने काम अझै भएको छैन । भैसीको मासु खाने परिवारको टे«सिङ बाहेक अन्य काम हुन नसकेको स्थानीयले बताएका छन् । शनिबार पनि उक्त टोली सापिङका विभिन्न बस्तिमा पुगेर रेविजको अवस्था र पशुहरुमा देखिएको संक्रमणका बारेमा अनुगमन गरेको थियो । पशु स्वास्थ्य शाखामा रेविजबाट मर्ने पशुहरुको रेकर्ड ६ वटा मात्रै छ ।

घटना कसरी बाहिरियो ?

प्रकाश उच्च मावीका सहायक प्रधानाध्यापक नारायणराज उप्रेति, विद्यालय नर्स दिलकुमारी बोहोरा लगायत खाजा खाईरहेको स्थानमा भुम्लु गाउँपालिका १ सापिङ कात्तिकेका हर्कजित तामाङले आफ्नो भैसी बारीको मकै खाएर मरेको, मरेको भैसी विक्री गरी मासु पठाएको, स्थानीयहरुले रेविज हो कि ?

भन्ने आशंकाले आफुलाई खोप लगाउन भने पछि पाँचखाल पुगेर रेविज विरुद्धको दोश्रो पटकको खोप लगाएर आएको बताएका थिए । सोहि स्थानमा काटिएको भैसीको मासु भुम्लुबेशी, हबेली, टार, बोक्से लगायतका स्थानीयहरुले पनि लगेको सुचनाले शिक्षक र नर्स दुबै झस्किए । तत्कालै विद्यालयमा आएर बालबालिकाहरुलाई सोध्दा कोहि बोल्न मानेनन ।

विद्यालय नर्स दिलकुमारी बोहोराले बालबालिकाहरुले भन्न नचाहे पछि रेविजको असर र त्यसको कारणका बारेमा बताउनु भयो । त्यस लगत्तै ७ जना बालबालिकाहरुले उक्त भैसीको मासु खाएको बताए । रेविज विरुद्धको खोप लगाउने बेला १० जना पुगे । मरेको भैसीको मासु खाएको भनेर बेईज्जत हुने डरले बालबािलकाहरु र अभिभावक खुल्न चाहेका छैनन ।

पाकेको मासु खाँदा रेविज सर्दैन तर मासु ल्याउँदा, मासु पकाउँदा अथार्त काचो मासु खाने चलन भएकाले मरेको भैसीमा रेविज रहेछ भने भाईरस सर्ने सम्भावना हुन्छ । विद्यालय नर्स र प्रधानाध्यापकले विद्यालयमा छलफल पछि गाउँपालिकाको स्वास्थ्य शाखा, पशु स्वास्थ्य शाखा र स्वास्थय कार्यालय काभ्रेमा जानकारी गराउनु भयो ।

साउन ३० गते पहिलो डोज खोप लगाईएको छ । भाद्र १६ गते पुनः भुम्लुबेशीमा चन्द्रबहादुर तामाङको राँगो मरेपछि रेविज पुष्टी भएको छ । त्यस पछि कात्तिकेबाट मासु ल्याएर खाएका भुम्लुबेशीका स्थानीयहरु त्रसित भएका हुन् । खोप लगाउन सचेतना गराउँदा पनि केहि ब्यक्ति अझै लुकेर बसेको आशंका छ ।

भुम्लु ५ सल्ले घर भएका दुधगाउँका ८४ बर्षिय सिमान तामाङ २०७८ कार्तिक ७ गते भुम्लु आधारभुत अस्पतालमा भर्ना भएका थिए । घरमा पालेको कुकुरले भाद्र महिनामा टोकेर असहज भए पछि कार्तिक महिनामा अस्पताल पुगेका सिमान तामाङलाई रेविजको लक्षण देखिए पछि भुम्लु आधारभुत अस्पतालले काठमाडौ रिफर गरेको थियो ।

उहाँको कार्तिक ८ गते नै काठमाडौमा उपचारका क्रममा रेविजबाट निधन भएको अस्पतालले पुष्टी गरेको थियो । जिल्लामा पछिल्ला तीन वर्षमा रेविजबाट मर्नेको संख्या ५ पुगेको छ । अघिल्लो वर्ष चौरीदेउराली गाउँपालिका रेविजको महामारीमा थियो । यो वर्ष भुम्लु गाउँपालिकामा महामारी फैलिएको छ । आमा समुह, स्वास्थ्य चौकी, विद्यालय, सर्वसाधारण तथा विभिन्न संघ संस्थाहरुले रेविज विरुद्धको सचेतना फैलाउन अभियान शुरु गरेका छन् ।

सापिङबाट आउने केहि विद्यार्थीहरु कक्षा १० को अतिरिक्त कक्षा लिन विहान कुकुर साथमा लिएर आउँछन् । दिनभर विद्यालयमा कुकुर बस्छन् । घर फर्कँदा सँगै जान्छन् । विद्यालय नर्स दिलकुमारी बोहोरा कुकुरहरुको आतंकबाट थप त्रसित बनेको बताउनु हुन्छ । विद्यालय क्षेत्र भित्र सामुदायिक कुकुरहरुलाई खोप लगाउने तथा ब्यवस्थित गर्ने कुरामा सरोकारवालाहरुले ध्यान दिनु पर्ने छ ।

भुम्लु आधारभुत अस्पतालमा दैनिक विरामीहरु भर्ना हुने गरेका छन् । चिकित्सक सहितको थोरै जनशक्तिको ब्यवस्थापन गरिएको छ । एम्बुलेन्सको ब्यवस्थापन गरिएको छ । १५ शैयाको उक्त अस्पताल वरपर फैलिएको रेविज महामारीले स्वास्थ्यकर्मी समेत त्रसित छन् । स्वास्थ्य शाखा प्रमुख सुर्दशन भट्टराईले अस्पताललाई पूर्वाधार र जनशक्ति सम्पन्न बनाउँदै लगिएको बताउनु भयो ।

राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दुधबाट रेविज सर्दैन । काँचो दुध, मासु खाँदा रेविज सर्छ । ९९ प्रतिशत संक्रमण कुकुरबाट सर्छ । कुकुरलाई रेविज विरुद्धको खोप लगाउँदा रेविज फैलन पाउँदैन । रेविज लागेको कुकुरले मान्छे, पशुपंक्षीलाई टोकेको अवस्थामा रेविज सर्न सक्छ । त्यस्ता पशुपक्षीहरुबाट मान्छेलाई सर्न सक्ने रेविज नियन्त्रणमा गम्भिर हुनु पर्छ ।

भुम्लु गाउँपालिका १ सापिङको कात्तिकेमा हर्कजित तामाङको भैसी साउनको दोश्रो साता म¥यो । भुकम्प पछि भैसी खुल्ला स्थानमा बाध्ने गरिएको छ । खुल्ला टहरामा बाँधिएको भैसीले दाम्लो छिनाल्यो । रातभर बारीमा भएको मकै खायो । केहि दिनमा भैसी म¥यो । हर्कजितले मरेको भैसी मासुका लागि ४ हजारमा विक्री गरे ।

भुम्लुबेशी, टार, कात्तिके तथा अन्य गाउँका स्थानीयहरुले सस्तोमा भएकाले मासु लिएर गए । कतिसम्म भने हबेलीमा एउटा पसलमा सोहि भैसीको मासुबाट मम पकाएर विक्री भएको थियो । केहि दिन उक्त मासु फ्रिजमा पनि थियो । १९ परिवारका ५१ जनाले मासु खाएको तथ्यांक फेला प¥यो । काँचो दुध खाएका ब्यक्तिले अझै खोप लगाएका छैनन । काँचो मासु खाएका मान्छे खुल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्