गठबन्धनका नेताहरुलाई मिलाउन देउवालाई सकस, दर्जन बढी नेतालाई मुख्यमन्त्रीको आश्वासन

0
Shares

डडेल्धुरा । तीन पटकसम्म आफुसँग प्रतिष्प्रर्धा गरेर पराजित भएका नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह प्रदेशमा आफ्नै दलका नेताहरुको व्यवस्थापन गर्न सकस परेको छ ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनाउने आश्वासन दिएर गठबन्धनका तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेश सभा सदस्य उम्मेदवार बनाउने सहमति गर्नु भएको हो । तर, सो क्षेत्रबाट प्रदेश सभा सदस्य उम्मेदवार बन्न लामो समयदेखि तयारी गरेका कांग्रेस डडेल्धुराका सभापति भिमबहादुर साउदले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुबीच स्वच्छ प्रतिष्प्रर्धा हुने र डडेल्धुरामा गठबन्धन नहुने बताउनु भयो ।

कांग्रेस डडेल्धुरा जिल्लामा एक्लै निर्वाचनमा होमिने तयारीमा छ । गठबन्धनमा संलग्न राजनीतिक दलहरुबीच स्वच्छ प्रतिष्प्रर्धा हुने कांग्रेस डडेल्धुराका नेताहरु बताउछन । कांग्रेस डडेल्धुराका सभापति साँउद आफै मुख्यमन्त्रीका शशक्त दाबेदार भएको र साँउदलाई मुख्यमन्त्री बनाउने आश्वासन प्रधानमन्त्री देउवाबाट प्राप्त भएको निकटस्थ नेताहरु बताउछन ।

कांग्रेस प्रदेश सभा क्षेत्र ‘क’ डडेल्धुराका सभापति कैलाशकुमार पाण्डेयले जिल्लामा कांग्रेसका उम्मेदवारहरु सहजै जित्ने भएकाले गठबन्धन नहुने जिकिर गर्नुभयो । ‘माओवादी केन्द्रका नेता खगराज भन्दा पनि डडेल्धुरा कांग्रेसका सभापति साउँद मुख्यमन्त्री हुनेगरि निर्वाचनमा प्रतिष्प्रर्धा गर्नुहुन्छ,’ पाण्डेयले भन्नुभयो,‘काँग्रेसको संगठन बलियो रहेको डडेल्धुरामा चुनावी गठबन्धनको औचित्य नभएकाले हामीले एक्लै चुनावमा होमिने निर्णय गरिसकेका छौ ।’

गृहजिल्लामै गठबन्धन धरापमा परिरहेका बेला प्रधानमन्त्री देउवालाई गठबन्धनमा संलग्न राजनीतिक दलका नेताहरुको व्यवस्थापन निकै चुनौतीपुर्ण देखिएको छ । आफ्नै दलभित्रका नेताहरुको व्यवस्थापन गर्न प्रतिनिधी सभा सदस्य उम्मेदवार बन्ने दौडमा रहेका झण्डै एक दर्जन नेताहरुलाई मुख्यमन्त्रीको आश्वासन दिँदै प्रदेश सभामा निर्वाचन लडन प्रधानमन्त्री देउवाले दबाब दिन थाल्नु भएको छ ।

कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति पुर्वमन्त्री बिरबहादुर बलायरलाई प्रदेश सभामा प्रतिष्प्रर्धा गरेर मुख्यमन्त्री बन्न सुझाव दिनुभएका प्रधानमन्त्री देउवाले डोटीकै अर्का नेता भरतबहादुर खडकालाई पनि मुख्यमन्त्री बनाउने आश्वासन दिनुभएको नेपाली काँग्रेस डोटीका नेताहरु बताउछन । डोटीमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आले मगरलाई प्रतिनिधी सभा सदस्यको उम्मेदवार बनाउन देउवाले आफ्नो पार्टीका नेताहरुलाई प्रदेश सभामा प्रतिष्प्रर्धा गर्न निर्देशन दिनु भएको हो ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा माओवादी नेतृ बिना मगरलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन सो क्षेत्रबाट आकंक्षी कांग्रेसका नेता दिवानसिंह विष्टलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएर मुख्यमन्त्री बन्न प्रधानमन्त्री देउवाले सुझाव दिनुभएको छ भने कैलाली–५ मा धर्मपत्नी डा. आरजु राणालाई टिकट दिन कांग्रेस कैलालीका पुर्व सभापति तथा सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री नरनारायण शाहलाई पनि प्रदेश सभामा लडेमा मुख्यमन्त्री बनाउने आश्वासन दिनुभएको छ ।

कांग्रेस बैतडीका नेता पूर्वमन्त्री नरबहादुर चन्द र लोकराज अवस्थी, बझाङका सुरेश मल्ल र पृथ्वीबहादुर सिंह, बाजुरा काँग्रेसका नेता पूर्वमन्त्री जनकराज गिरी, मनबहादुर रावल लगायत एकदर्जन नेताहरुलाई मुख्यमन्त्री बनाउने भन्दै प्रदेश सभामा लडन देउवाले सुझाएको नेताहरु बताउछन् ।

दार्चुलाका बिक्रमसिंह धामी, जगदिश पाल र महादेव बडुका साथै अछामका मेघराज खडका लगायतका नेताहरुलाई प्रधानमन्त्री देउवाले प्रदेश सभामा प्रतिष्प्रर्धा गर्न सुझाव दिनुभएको भएको थाहा भएको छ । प्रदेश सभामा निर्वाचन लडन इन्कार गर्ने नेताहरुलाई मुख्यमन्त्रीको आश्वासन दिइन् थालिएको हो ।

कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति तथा पुर्वमन्त्री बलायरले पार्टीका नेताहरुको व्यवस्थापन गर्न कठिनाई भइरहेका बेला अन्य दलसँग गठबन्धन गर्नुको कुनै औचित्य नरहेको बताउनुभयो । उहाँले प्रदेशको मुख्यमन्त्री बन्ने अबस्था भएपनि आफुले प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिने बताउनुभयो ।