डेंगु बढ्नुको कारण एडिस लामखुट्टेको वृद्धि र मानव आवागमन



अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष डेंगुको संक्रमण धेरै गुणा बढेको छ । कोरोनाको जस्तै लक्षण लिएर अघिल्लो केही सातादेखि काठमाडौंस्थित शुक्रराज ट्रपिकल अस्पतालमा आएका बिरामीमा डेंगु भएको पाइयो । पछिल्लो साता मात्रै २ सय ९५ डेंगु संक्रमित बिरामी टेकु अस्पतालमा आए ।

तथ्यांकअनुसार जनवरीदेखि यता २ हजार ८ सय २७ जनामा डेंगु भाइरस देखिएको छ भने हालसम्म नेपालका ७२ जिल्लामा यो फैलिएको पाइएको छ । ललितपुरमा अत्यधिक संक्रमित देखिएका छन् भने काठमाडांै, धादिङ, रूपन्देहीमा पनि संक्रमण बढ्दो छ । यसै रोगका कारण कैलालीमा एक जना महिलाको ज्यानसमेत गएको छ । सतर्कता नअपनाएमा डेंगुले भयानक रूप लिई धेरैको ज्यान जानसक्ने देखिन्छ ।

सर्वविदितै छ, डेंगु लामखुट्टेको एक प्रजातिको टोकाइबाट सर्ने भाइरल रोग हो । एडिस नामक लामखुट्टेका प्रजातिहरू बढ्दै गएको पाइएको छ र मानिसको आवत–जावत तथा देश भित्रिने क्रम बढ्नु पनि डेंगुको संक्रमण बढ्ने कारण बन्ने गरेको छ । नेपालमा एडिस लामखुट्टेको माध्यमबाट सर्ने डेंगु भाइरसका चार प्रजाति छन्, जसमध्ये डेंगु भाइरस– १ को संक्रमण अधिक रहेको छ ।

स्तनधारी जीव हँुदै मानिसमा सरेको अनुमान गरिएको डेंगुको उत्पति झण्डै ५सयदेखि १ हजार वर्ष पहिले भएको अनुमान गरिएको छ । नेपालमा पहिलो पटक २००४ सालमा देखिएको यो रोग त्यसपश्चात् विभिन्न उष्ण प्रदेशीय तथा उप–उष्णप्रदेशीय भागहरूमा तीव्र गतिमा फैलिएको छ । उष्ण प्रदेशहरूमा फैलिनुमा महत्वपूर्ण भूमिका खेल्ने तत्वहरूमा भारी वर्षा, तापक्रम, वायुको आद्र्रता, सहरीकरण तथा भेक्टरको रोकथाममा असमर्थ हुनु मुख्य छन् ।

पहलो पटक २००६ मा नेपालमा संक्रमण फैलिएको पाइएको थियो जसमा मनसुन पश्चातको समयमा तराइका विभिन्न भागमा गरी ३२ वटा संक्रमण भेटिएको थियो, जसमा चारवटै प्रजातिका भाइरस भेटियो । पछिल्लो ५ वर्षयता संक्रमण संख्यामा उल्लेख्य वृद्धि आएको पाइएको छ र झापा, चितवन, रूपन्देही महोत्तरी, कास्की, सुनसरीलगायत जिल्लामा बढ्दो संक्रमण रहेको पाइएको छ । सन् २०१९ मा अहिलेसम्मकै बढी १४ हजार ६ सय ६२ संक्रमण देखियो जसअन्तर्गत ७७ मध्ये ६८ जिल्लामा संक्रमित भेटियो ।

विश्वमा यस रोगका कारण हुने मृत्युदर सरदर वार्षिक १ प्रतिशतभन्दा कम नै रहेका छन् र सन् २०१९ मा नेपालमा यो रोगका कारण ६ जनाले ज्यान गुमाएका थिए । काठमाडांै उपत्यका डेंगु भेक्टरका लागि अनुकूल नरहेको भए तापनि बढ्दो सहरीकरण, फोहोरको असुरक्षित व्यवस्थापन र जनसंख्याको तीव्र वृद्धिका कारण राजधानीमा पनि १ हजार ५ सय ८३ संक्रमित भेटिए ।

अहिले सन् २०२२ को जुलाईदेखि अगस्टसम्म मात्र १ हजार ४ सयभन्दा बढी संक्रमण पाइएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा भन्दा कैयौं गुणा बढी हो । त्यस्तै, यस वर्ष पनि अधिकांश संक्रमित काठमाडौं उपत्यकामा नै रहेको पाइएको छ । समयमा नै सचेत भई यसलाई नियन्त्रण लिन सकिएन भने कुनै पनि समय यसले महामारीको रूप धारण नगर्ला भन्न सकिन्न । विशेषतः यो गर्मीसँगै वर्षाको समय भएकोले यसको जोखिम थप बढी हुने देखिन्छ ।

कसरी सर्छ ?

एडिस एजिप्टी नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगुका प्रमुख भेक्टर हुन् । दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजातिले मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्दछ । भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र मानिसको शरीरमा फैलिन्छ । रगत खाइसकेपछि यसले ताजा पानी जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ । एउटा पानीको स्रोतमा १ सयदेखि २ सयसम्म अण्डा पार्न सक्छ भने एकपटकमा कैयौं स्रोतमा अण्डा जम्मा गर्छ ।

यसका अण्डा निर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको संख्या तीव्र गतिमा बढिरहेको छ । संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसी संक्रमण पक्रिया बढाउन सक्छ । एकपटक संक्रमण भएपछि मानिसमा त्यस प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटी मिल्छ । तसर्थ ४ प्रजातिका भाइरसले एक व्यक्तिमा ४ पटक संक्रमण गर्न सक्छन् ।
लक्षण

डेंगु लागेको २–७ दिनमा यस रोगका लक्षणहरू देखिन थाल्छन् । जसमा उच्च ज्वरो (१०४ डिग्री फ्यारेनहाइट) प्रमुख लक्षण हो । साथसाथै अन्य लक्षणहरूमा टाउको दुख्ने, मांसपेशी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाक लाग्ने, वान्ता आउने, ग्रन्थी सुन्निने आदि हुन्छन् ।

विश्व स्वास्थ संगठन ९ध्ज्इ०ले डेंगुलाई डेगु र जटिल डेंगुमा विभाजन गरेको छ । सामान्यलक्षण तथा स्वयं सीमित भएर जाने रोगलाई डेंगु भनेको छ र चेतावनीमूलक लक्षण देखिनेलाई जटिल डेंगु भनेको छ । संक्रमणको ३–७ दिनपछिको समयमा ज्वरो कम हुँदै गएर चेतावनीमूलक लक्षण देखिन सक्छ । जुन कतिपय घातक हुन सक्छ ।

यी लक्षणहरूमा धेरै पेट दुख्ने, वान्ता भइरहने, गिजाबाट रगत बग्ने, पेट तथा छातीमा पानी जम्ने, छटपटी हुने आदि पर्दछन् । डेंगुका कारण आउन सक्ने सम्भावित जटिलतामा डेंगु हेमोरेजिक फिभर, डेंगु सक सिन्ड्रम आदि पर्छन् । यी अवस्थामा रगतबाट प्लाज्मा खेर जाने, सजिलै रगत बग्ने, नीलडाम बस्ने, तथा रगत बाक्लो भई विभिन्न अंगमा रगत पुग्न नपाएर अंगहरू खराब हँुदै जाने गर्दछ । यी जटिल संकेत देखिने अवधिलाई क्रिटिकल फेज भनिन्छ, यस्तो अवधि २४–४८ घण्टासम्म हुनसक्छ । यो अवधिमा शरीरमा पानी धेरै जमेमा घातक स्वास प्रश्वासको रोग देखिने गर्छ । त्यस्तै प्लाज्मा वा रगत धेरै खेर गएर कलेजो तथा अन्य अंग फेल हुने तथा हृदयघात समेत हुने सम्भावना हुन्छ । यो अवस्थालाई डेंगु सक सिन्ड्रम भनिन्छ । जसका कारण बिरामीको मृत्यु हुनसक्छ ।

रोकथाम

डेंगुको रोकथाम गर्न भेक्टर लक्षित उपायहरू अपनाउनु पर्छ । लामखुट्टेको प्रजननमा रोकथाम तथा घर वरपर उनीहरूको बसोबास हुन नदिनु आवश्यक छ । कीटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्टे बसोबास गर्नसक्ने स्थानमा कीटनाशक औषधि छर्किने, हावामा छर्किन मिल्ने स्पेस स्प्रेको प्रयोग तथा पानी जम्मा हुने सतहहरू सम्याउने, भाँडाहरू छोप्ने, पानीको सतहमा लामखुट्टे प्रतिरोधी (लार्भा नाषक) औषधिहरू छर्किने, किराहरू खाने माछा तथा अन्य जीव पालन गर्ने आदि उपायहरू प्रभावकारी छन् ।

त्यस्तै, आफ्नो सुरक्षाको लागि रिपेलेन्टजस्तै लोसनहरूको प्रयोग गर्ने, लामखुट्टे भगाउने धुपहरूको प्रयोग गर्ने पनि महत्वपूर्ण छ । त्यसै गरी फोहोरको उचित व्यवस्थापन गर्ने तथा पानीको परिचालन व्यवस्थित तवरले गर्नुपर्ने हुन्छ । डेंगु फैलाउने लामखुट्टेले बिहानदेखि बेलुकामा धेरै टोक्ने हुनाले सतर्कता अपनाउनु जरुरी हुन्छ ।

डेंगुको प्रकोप नियन्त्रण गर्न विभिन्न स्वास्थ संस्था, स्वास्थ क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था तथा स्थानीयदेखि केन्द्रसम्मका सरकारको सहकार्यमा रोकथामका कार्यक्रमहरू सञ्चालन गरी जोखिमयुक्त क्षेत्रहरूमा डेंगुको कहर नियन्त्रण गर्न सकिन्छ । साथै देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सर्वसाधारण आम जनतालाई डेंगुबाट बच्ने उपायहरू सिकाउन समेत जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्