कांग्रेसले आलमलाई उम्मेदवार नबनाउने

0
Shares

काठमाडौं । नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर –२ कार्यसमितिले प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेका मोहम्मद आफताव आलमलाई कांग्रेसले टिकट नदिने भएको छ । रौतहटबाट सिफरिस आए पनि उम्मेदवार नबनाउने महामन्त्री गगनकुमार थापाले बताउनुभयो ।

जिउँदो मान्छेलाई इँटा भट्टामा हालेर जलाएको आरोपमा थुनामा रहेका आलमलाई कांग्रेस रौतहट क्षेत्रनम्बर –२ ले प्रतिनिधिसभाका लागि एकल उम्मेदवार सिफारिस गरेको थियो ।

यसअघि रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित आलम बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटाभट्टामा हालेको आरोपमा पक्राउ परेपछि निलम्बनमा पर्नुभएको हो ।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो ।

घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाइएको आरोप छ । श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्मद आफताब आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । आलम २०७६ असोजदेखि थुनामा हुनुहुन्छ ।